श्रीमान-श्रीमती एकै पटक सांसद बन्न नपाउने महामन्त्री शर्माको प्रस्ताव
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले श्रीमान–श्रीमती एकै पटक सांसद बन्न नपाउने प्रस्ताव पेस गरेका छन्। उनले जनप्रतिनिधित्वमा नातावाद झल्किने भएकाले नागरिकहरूमा आलोचना र अलोकप्रियता बढेको उल्लेख गर्दै यस प्रवृत्तिलाई रोक्न यस्तो प्रस्ताव ल्याएको बताएका छन्।
जारी विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री शर्माले समसामयिक राजनीतिक समस्यासम्बन्धी प्रतिवेदनमा एकै घरका सदस्य ९विशेषगरी श्रीमान–श्रीमती० एउटै तहको जनप्रतिनिधि हुन नपाउने व्यवस्था पेस गरेका छन्। यसको अर्थ प्रतिनिधिसभा वा स्थानीय तहमा एकै परिवारका सदस्यले सँगै प्रतिनिधित्व गर्न पाउने छैनन्।
गोदावरी महासमितिले बैठकबाट पारित राजनीतिक दस्तावेजको सन्दर्भ स्मरण गर्दै शर्माले विशेष महाधिवेशनले यसलाई कडाइका साथ अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै, उनले केन्द्रीय समितिमा ४० वर्षमुनिका ४० जनालाई समावेश गर्ने व्यवस्था गर्ने प्रस्ताव पनि पेस गरेका छन्। यसअनुसार, ३० वर्षमुनिका २० जना र ३०–४० वर्षबीचका २० जना गरी केन्द्रीय समितिमा ४० जना सदस्य रहने प्रस्ताव छ।
प्रदेश कार्यसमितिमा दुवै उमेर समूहका १०–१० जना सदस्य राख्ने प्रस्ताव गरिएको छ। जिल्ला, संघीय क्षेत्र, प्रदेश सभा क्षेत्र र पालिका कार्यसमितिमा न्यूनतम ६–६ जना सदस्य राख्ने र वडा कार्यसमितिमा न्यूनतम ४–४ जना सदस्य राख्ने प्रस्ताव प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, केन्द्र र प्रदेश महाधिवेशन प्रतिनिधि छनोट गर्दा हरेक निर्वाचन क्षेत्रबाट महिला २ र पुरुष १ गरी ३ जना र ३० वर्षमुनिका १ जना गरी कुल ४ जना प्रतिनिधि छानिने व्यवस्था गर्ने प्रस्ताव पनि प्रतिवेदनमा समावेश छ।
यी प्रस्तावहरू बन्दसत्रमा सहभागी प्रतिनिधिहरूले छलफल गरी अन्तिम निर्णय गर्नेछन्।