डाक्टर जस्मिन झालाई ‘चैतन्य उत्कृष्ट शैक्षिक नेतृत्व सम्मान’
धनगढीः चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा शिक्षा, मनोविज्ञान तथा बाल विकासको क्षेत्रमा दीर्घकालीन रूपमा विशिष्ट योगदान पुर्याएको भन्दै शैक्षिक तथा अन्तर्राष्ट्रिय मामिला प्रमुख डाक्टर जस्मिन झालाई ‘चैतन्य उत्कृष्ट शैक्षिक नेतृत्व सम्मान’ प्रदान गरिएको छ।
शैक्षिक नेतृत्व, अन्तर्राष्ट्रियकरण शिक्षाको प्रवर्द्धन, शैक्षिक नवप्रवर्तन तथा गुणस्तर अभिवृद्धिका लागि निरन्तर समर्पित रहनु भएको योगदानको उच्च कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको आयोजक चैतन्य पाठशालाले जनाएको छ। डाक्टर झाले विद्यार्थीमैत्री शिक्षा प्रणाली, शिक्षक विकास कार्यक्रम तथा अन्तर्राष्ट्रिय सहकार्यमार्फत शिक्षाको स्तर उकास्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेकी छन्।
महोत्सवको विशेष समारोहका क्रममा चैतन्य पाठशालाको तर्फबाट सम्मान–पत्र, दोसल्ला सहित कार्यक्रमका प्रमुख अतिथि चिन्तामणिनाथ योगी र चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले समुहीक रूपमा झालाई सम्मान गरेका हुन्।
विद्यार्थी महोत्सवमार्फत केवल प्रतिभा प्रदर्शन मात्र नभई शिक्षा क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरेर विद्यार्थीमा नेतृत्व, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने उद्देश्य रहेको अध्यक्ष जोशीले बताए।
चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ अन्तर्गत शैक्षिक, सांस्कृतिक, खेलकुद, विज्ञान तथा प्रविधि प्रदर्शनी, विभिन्न प्रतियोगिता र सम्मान कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्। आयोजकका अनुसार आगामी दिनहरूमा पनि शिक्षा, समाजसेवा, प्रविधि र उद्यमशीलता क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिइनेछ।