सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोसाई कुण्ड मेलामा एक हप्तामा २ हजार तीर्थयात्रीको आगमन

। फोटो स्रोत ।
२०७६ साउन २८, ०३:१६ खबर संवाददाता

एक हप्तामा २ हजार २ सय ३४ तीर्थयात्रीले गोसाई कुण्ड मेला भरेका छन्। तीमध्ये धुन्चे हुँदै १ हजार ६ सय ९७ र सुन्दरीजल हुँदै ५ सय २७ तीर्थयात्री गोसाई कुण्ड पुगेका गोसाई कुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ। यो नेपाली सेनाको चोलाङपाटी र कुटुमसाङ पोष्टले सङ्कलन गरेको तथ्याङ्क हो। गएको वर्षदेखि नेपाली सेनाले तीर्थयात्रीको विवरण राख्दै आएको छ। यस पटक १० जना विदेशीले समेत मेला भरेको समितिले जनाएको छ। 

दैनिक २ सयभन्दा बढी तीर्थयात्री आइरहेकाले बिहीबारदेखि तीर्थयात्रीको आगमन बढेको हो। यो वर्ष कम वर्षा भएका कारण पदमार्ग सुरक्षित छ भने रसुवाखण्डको कुनै पनि स्थानमा पहिरो झरेको छैन। तर समितिले अपेक्षा गरेजस्तो १५ हजार तीर्थयात्रीको लक्ष्य भने पूरा नहुने देखिएको छ।

मेला यही साउन ३० गते सकिन्छ। परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरेर विषको डाहा शान्त पार्न हिमालयखण्डको काखमा आएर शिवजीले त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भएर त्रिशूलधाराको पानीबाट गोसाई कुण्डको उत्पति भएको किंवदन्ती रहेको पाइन्छ। जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाई कुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन्।
 

कमेन्ट लोड गर्नुस