‘मिलीजुली खाने प्रवृत्तिको अन्त्य आवश्यक छ’: मन्त्री हिरा सार्की
बेलौरी: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विकासका नाममा हुने ‘मिलीजुली खाऊँ’ भन्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए।
शनिबार महेन्द्रनगरमा आयोजित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री सार्कीले विकास योजनाका बजेटमा मिलेमतो गरी खाने र त्यसअनुसार अपेक्षित विकास नहुने विषयमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो प्रवृत्तिको अन्त्य आवश्यक रहेको बताए।
अनुदानका कार्यक्रममा कमिसन खाएर मात्रै काम हुने गरेको भन्ने विगतदेखि चल्दै आएको गलत भाष्य चिर्न मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै मन्त्री सार्कीले बजेट विनियोजनमा पारदर्शिता कायम गरिने बताए। “विगतका वर्षमा एउटै सहकारीले तीन–चार पटकसम्म अनुदान पाएको अवस्था देखिन्छ,” उनले भने, “लेनदेन र कमिसनको म सख्त विरोधी हुँ।”
मन्त्री सार्कीले मन्त्रालय र कर्मचारी मिलेर खाने प्रवृत्तिको पनि अन्त्य गर्न खोजिएको बताए। “म जनताको हित र विकासका लागि आएको हुँ,” उनले भने, “कसैको लोभ र कमिसनमा बिक्न मन्त्री भएको होइन।”
जनताको हित र विकासमै आफू केन्द्रित रहेको स्पष्ट पार्दै मन्त्री सार्कीले कसैको लोभमा नबिक्ने बताए। साथै, उनले छिट्टै आमसञ्चार विधेयक पारित गरिने जानकारी पनि दिए।
साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष पूर्ण कुँवरले सहकारी सञ्चालनमुखी नभई सदस्यमुखी हुनुपर्नेमा जोड दिए। यस्तै, केन्द्रीय लेखा आयोगका सचिव ईश्वरीप्रसाद खरेलले प्रदेश सरकारबाट बजेट प्राप्त गर्न कमिसन बुझाउनुपर्ने अवस्था रहेको आरोप लगाए। उनले सहकारीप्रति प्रदेश सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरे।
नेपाल निजामती कर्मचारी सङ्घका केन्द्रीय सदस्य प्रताप चन्दले राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको नयाँ भवन निर्माणका लागि प्रदेश सरकारसँग ४० लाख रुपैयाँ बजेट छुट्याइदिन मन्त्री सार्कीसमक्ष माग गरे। सुरुमा २५ लाख माग गरिए पनि उक्त रकम अपुग हुने देखिएकाले ४० लाख आवश्यक रहेको उनले बताए।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनपुरमा हाल २५९ महिला र ५३६ पुरुष गरी कुल ८०४ सेयर सदस्य रहेका छन्। सहकारी संस्थाका अध्यक्ष गङ्गादत्त जोशीका अनुसार पुस १५ गतेसम्म संस्थाको सेयर पुँजी एक करोड तीन लाख २७ हजार ४ सय रुपैयाँ पुगेको छ। सोही अवधिसम्म संस्थाको बचत रकम २७ लाख ७८ हजार ४८ रुपैयाँ रहेको उनले जानकारी दिए।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष जोशीले संस्थाको कुल निक्षेप दुई करोड ६२ लाख २९ हजार ३५७ रुपैयाँ पुगेको बताए। साधारण सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष लालबहादुर विष्टले प्रस्तुत गरे भने लेखा प्रतिवेदन धनबहादुर खड्काले प्रस्तुत गरेका थिए।