पर्या–पर्यटनमार्फत सुदूरपश्चिममा समृद्धिको आधार
घोडाघोडी: कैलालीको लम्की बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ जाँदा चुरे पहाडको काखमा अवस्थित आमपानी झरना पुगिन्छ। मोहन्याल गाउँपालिका–७ मा पर्ने बर्गदा सामुदायिक वनभित्र रहेको यो मनमोहक झरना केही वर्षअघिसम्म ओझेलमै थियो। तर कोरोना महामारीको समयमा मानिसहरूले एकान्त र प्रकृतिसँग नजिक हुने स्थान खोज्न थालेपछि आमपानी झरना विस्तारै चर्चामा आयो।
सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत करिब ४० लाख रुपैयाँको लागतमा यस क्षेत्रलाई व्यवस्थित गरेपछि यहाँ पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको बर्गदा सामुदायिक वनका कार्यालय सचिव ध्वजबहादुर शाही बताउँछन्। वन संरक्षण भनेको केवल रुख जोगाउनु मात्र नभई हराउँदै गएका प्राकृतिक सम्पदाको पुनर्जीवन पनि हो भन्ने उदाहरण भजनी–२ मा रहेको लोहटीवा ताल बनेको छ। अतिक्रमणमा परेको यो ताल २०६२ सालमा राधाकृष्ण सामुदायिक वन उपभोक्ता समूहको पहलमा पुनःनिर्माण गरिएको हो। सोही क्षेत्रमा थारू सङ्ग्रहालय निर्माणको कामसमेत अघि बढिरहेको छ। अहिले त्यहाँ डुङ्गा सयर, वनभोज तथा प्रकृतिसँग रमाउन दैनिकजसो पर्यटक पुग्ने गरेका छन्।
पर्या–पर्यटनको दृष्टिले कैलालीको घोडाघोडी ताल अत्यन्त महत्वपूर्ण मानिन्छ। नेपालकै पहिलो ‘वर्ड सेञ्चुरी’ का रूपमा घोषित यो क्षेत्र जैविक विविधताको दृष्टिले पनि निकै समृद्ध छ। दुर्लभ चराचुरुङ्गी, माछा र पुतलीको बासस्थान रहेको घोडाघोडी क्षेत्रले अहिले स्थानीय बासिन्दाको जीवनशैली नै परिवर्तन गरिदिएको घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाह बताउनुहुन्छ। यहाँ आन्तरिक तथा बाह्य पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ।
उता कञ्चनपुरमा रहेको शोभाताल पनि पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ। विसं २०६१ देखि बेलौरी नगरपालिका–५ मा रहेको मुक्त कमैया समुदायले संरक्षण गर्दै आएको यो ताललाई नगरपालिकाले थप व्यवस्थापन गरेपछि पर्यटकको आगमन बढेको हो। वनभोज खान, डुङ्गा सयर गर्न तथा घुमघामका लागि यहाँ पर्यटक आउने गरेको शोभाताल संरक्षण समितिका सचिव गणेश चौधरी बताउँछन्।
कैलाली र कञ्चनपुरमा पर्या–पर्यटनका सम्भावना झन् फराकिला देखिन्छन्। कैलालीमा कर्णाली चिसापानी, राजकाँडा, केबलकार निर्माणको सम्भावना, ऐतिहासिक टीकापुर पार्क, लम्कीको आमपानी झरना, विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल तथा वर्ड सेञ्चुरी प्रमुख आकर्षणका रूपमा रहेका छन्। भजनीको लोहटीवा ताल, वसन्ता जैविक मार्ग वरपरका वन क्षेत्र, गौरीगङ्गाको जोगनिया ताल र धार्मिक आस्थाको केन्द्र बेहडाबाबा पनि सम्भावनायुक्त गन्तव्य हुन्।
धनगढी उपमहानगर क्षेत्रमा जोखर ताल, देवहरिया वनस्पति उद्यान तथा चुरे क्षेत्रका गोदावरी, बूढीतोला र खानीडाँडा पर्यटनको नयाँ केन्द्रका रूपमा विकसित हुँदै गएका छन्। विशेषगरी चुरे गाउँपालिकामा रहेको ऐतिहासिक गर्भा दरबार र त्यहाँ पुग्ने पदमार्गले इतिहास र प्रकृतिलाई एकसाथ जोडेको छ। कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा–चाँदनी क्षेत्र, वेदकोट, शोभा, झिलमिला, बन्धा ताल तथा लिङ्गा वन क्षेत्र पर्या–पर्यटनका महत्वपूर्ण गन्तव्यका रूपमा विकसित हुँदै गएका छन्।
पर्या–पर्यटनले सिर्जना गरेको रोजगारी
पर्या–पर्यटनको विकाससँगै स्थानीय स्तरमा रोजगारी र आयआर्जनका अवसरहरू पनि बढेका छन्। पर्यटकीय क्षेत्रमा फोटोग्राफी, घोडसवारी, होटेल तथा होमस्टे व्यवसाय फस्टाउँदै गएका छन्। युवाहरू विदेश जानुको सट्टा आफ्नै गाउँमा स्वरोजगार बन्न थालेका छन्। घोडाघोडीमा घोडा चढाएर पर्यटक घुमाउने वसन्तकुमार शाहीका अनुसार दैनिक करिब १ हजार २०० रुपैयाँसम्म आम्दानी हुन्छ।
घोडाघोडी क्षेत्रमै करिब २० जना युवायुवती पर्यटकको तस्बिर खिचेर रोजगारीमा जोडिएका छन्। डोटीको केआइसिंह गाउँपालिकाका दीपक उपाध्याय भन्नुहुन्छ, “फोटो खिचेरै दैनिक दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्म कमाइ हुन्छ, विदेश जानु परेको छैन।”
घोडाघोडी आसपास करिब ३० वटा खाजा–नास्ता होटेल सञ्चालनमा छन्। चाडपर्व, माघी, नयाँ वर्ष र सार्वजनिक बिदाका बेला पर्यटकको चाप बढ्ने भएकाले आम्दानी पनि उल्लेख्य रूपमा बढ्ने गरेको होटेल व्यवसायी अनिता क्षेत्री बताउँछन्। उनका अनुसार यस्तो समयमा दिनकै दुई हजार रुपैयाँसम्म आम्दानी हुन्छ।
पर्यटकहरू घोडाघोडी नजिकैको माघी होमस्टेसम्म पुग्ने भएकाले होमस्टेमार्फत पनि स्थानीयले आम्दानी गरिरहेका छन्। माघी होमस्टेका अध्यक्ष सीताराम चौधरीका अनुसार पर्या–पर्यटनले थारू समुदायको संस्कृति र जीवनशैली चिनाउने अवसरसमेत दिएको छ। उता कञ्चनपुरको शोभाताल व्यवस्थापन गर्दा मुक्त कमैया समुदायसहित स्थानीयले रोजगारी पाएको बेलौरी–५ का वडा सदस्य कृपा चौधरी बताउँछन।
संरक्षणमा देखिएका चुनौती
पर्या–पर्यटनको विकाससँगै चुनौतीहरू पनि देखा परेका छन्। जहाँ आम्दानी बढ्छ, त्यहाँ क्षेत्राधिकार र राजस्वको विवाद उत्पन्न हुने गरेको देखिन्छ। घोडाघोडी ताल क्षेत्रमा हाल सामुदायिक वन उपभोक्ता समूह र नगरपालिकाबीच राजस्व संकलनको विषयमा विवाद चर्किएको छ। घोडाघोडी नगरपालिकाले ताल क्षेत्रमा शुल्क संकलनका लागि ठेक्का आह्वान गरेपछि सामुदायिक वन र स्थानीय सरोकारवालाले असन्तुष्टि जनाएका हुन्।
सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाहले संरक्षणमा लामो समयदेखि योगदान दिँदै आएको समूहसँग समन्वय नगरी ठेक्का दिइएको आरोप लगाउँछन््। ठेक्का कार्यान्वयनमा ढिलाइ भएपछि विवाद थप चर्किएको थियो। हाल नगरपालिकाले सुरक्षा निकायको सहयोगमा ठेक्का कार्यान्वयनमा ल्याएको छ। नगर प्रमुख खड्क रावतका अनुसार नगरपालिकाले सामुदायिक वनसँग सहकार्य गर्दै व्यवस्थापन अघि बढाउने सहमति भएको छ।
यसको विपरीत कञ्चनपुरको शोभातालमा भने साझेदारीको अभ्यास गरिएको छ। बेलौरी नगरपालिकाले ४० प्रतिशत र संरक्षण समितिले ६० प्रतिशत लाभ बाँडफाँट गर्ने निर्णय गरेको उपप्रमुख जोगराम चौधरी बताउँछन। संरक्षण समितिका सचिव गणेश चौधरीका अनुसार मुक्त कमैयाले संरक्षण गरेकाले आम्दानीको एक हिस्सा नगरपालिकालाई दिने विषयमा छलफल भइरहेको छ।
आमपानी झरनाजस्ता क्षेत्रमा संरचना निर्माण भए पनि फोहरमैला, तोडफोड र सुरक्षाको समस्या देखिन थालेको छ। झरनाको डिल भत्काइएको, मदिराका बोतल जताततै फ्याँकिएको दृश्यले संरक्षणमा थप चुनौती थपिएको छ।
सरकारको सक्रियता र भविष्यको दिशा
सुदूरपश्चिममा पर्या–पर्यटन विकासका लागि प्रदेश सरकार, स्थानीय तह र सम्बन्धित निकाय सक्रिय देखिएका छन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत चौमालामा नक्षत्र बाटिका, थारू मरुवा, पुल निर्माण, आमपानी झरना व्यवस्थापनलगायतका योजना सम्पन्न भएका छन्। आगामी दिनमा चिसापानी पुल नजिक पार्क, बाँकावीर पार्क, अत्तरियाको लामीतालमा पदमार्ग तथा कञ्चनपुरको भम्केनी धाममा नेपाल आमाको मूर्ति निर्माणलगायत योजना अघि बढाइने प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख डबलबहादुर बोहरा बताउँछन्।
वन तथा भू–संरक्षण विभागका पूर्व महानिर्देशक देवेशमणि त्रिपाठीका अनुसार कैलाली र कञ्चनपुरमा पर्या–पर्यटन अझै प्रारम्भिक चरणमै छ। उहाँका अनुसार पर्यटन विकासका नाममा अत्यधिक भौतिक संरचना निर्माण गर्नु नै समाधान होइन। “पर्या–पर्यटनको आत्मा भनेकै स्थानीय प्रकृति, संस्कृति र जैविक विविधताको संरक्षणसँगै दिगो लाभ लिनु हो,” उनले भने।
डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत जनक पाध्याले पर्या–पर्यटनका सबै गतिविधि संरक्षणमैत्री र मापदण्डअनुसार हुनुपर्नेमा जोड दिनुहुन्छ। सामाजिक, आर्थिक र वातावरणीय पक्षबीच सन्तुलन कायम गर्न सकेमा मात्र पर्या–पर्यटन दिगो बन्ने उनको भनाइ छ।
स्थानीय समुदायको सक्रिय सहभागिता, स्पष्ट नीति, नियमित अनुगमन र संरक्षणलाई पहिलो प्राथमिकता दिएमा पर्या–पर्यटनले सुदूरपश्चिममा जैविक विविधता जोगाउँदै आर्थिक समृद्धिको बलियो आधार तयार गर्न सक्ने विज्ञहरूको निष्कर्ष छ।