सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘प्रेम प्रस्ताव राख्न नसक्दा मानसिक रोगी भए’

२०७६ साउन २८, १२:१५ खबर संवाददाता

२०४६ साल तीरको कुरा हो, नैनबहादुर कार्की कास्की पोखराको एक माध्यमिक  विद्यालयमा अध्ययन गर्थे। पोखरा नै स्थायी ठेगना भएका कार्की  भर्खर १६ बसन्तले छोएका जोशिला र फुर्तिला त थिए नै उत्तिकै अध्ययनशिल पनि, फक्रिदै थियो बैस उनको, विस्तारै कुरा बुझ्दै गएका थिए कार्की। खै कहिलेदेखि हो उनलाई पनि त्यो थाहा छैन्, सँगै अध्ययन गर्ने एक किशोरीले दिलमा राज गर्न थालेको, पत्तो नै पाउन सकेनन्।

निकै मिलनसार, सुन्दर, खाईलाग्दो जिउँडाल र मिजासिलो स्वभावकी ती किशोरी उनको सहपाटी पनि हुन्। तरपनि पत्तो पाएनन् कार्कीले। मनमुटुमा सजिएकी सपनाकी परीका बारेमा आफ्ना दौतरीसँग समेत केही कुरा गर्ने आँट आएन उनीमा। राखे त केवल दिलमा मात्र।

खै सुटुक्क उनको दिलमा बास बस्न पुगेकी ती किशोरीलाई थाहा थियो की थिएन कार्कीले आफूलाई राजकुमारीका रुपमा दिलमा सजाएर राखेका छन् भन्ने कुरा। तर कार्कीले अहिले पनि आफ्नो वरीपरी खोज्नछन् उनलाई। सपनाकी राजकुमारी सामू शब्दमा प्रेम दर्शाउन नसकेपछि नै उनी मानसिक रोगी भएर निस्केका थिए पोखराबाट।

कैलालीको अत्तरिया बजारमा वेवारिस भएर डुलिरहकै बेला उनलाई सहारा घरले उद्दार गरेको थियो। जिल्लाको बर्दगोरिया गाउँपालिकाको चुरे फेदमै अवस्थित सहारा घरमा बस्न थालेदेखि उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। होस् नै गुमाईसकेका उनी अहिले त विगतलाई सम्झन् सक्ने भएका छन्। तर छैन् निष्ठुरी मायालुको यादले सताउन छोडेको। घरी घरी आउँछ उनको याद।

एउटै कक्षा कोठामा सँगै पढेको लेखेको। चिटिक्क मिलेका दन्तले मुस्कान दिएको। सायद अहिले उनी भेटिए त कार्कीले च्याप्प अंगालोमा बेर्दै भन्थे यतिका वर्ष सम्म कहाँ हराएकी थियौँ राजकुमारी। खै कुन संसारमा डुल्दै छिन् अहिले त्यो कुरा उनैलाई थाहा होला।

कसले सुन्छ नैन बहादुरका विरहका गीत अब। हामीसँग सहारा घरमा भेट हुने बेला उनले सुनाएका थिए, ‘मेरी माया साह्रै नै राम्री राम जाने, इन्द्र कमल फुल जस्तै राम्री राम जाने.... एकै नजर पर्दैमा ज्यान जाने.....।’ पागल सरी भएर कैलाली पुगेका नैन बहादुरलाई घर फर्किने इच्छा छ।

आमाबुबा उहिल्यै स्वर्गीय भईसकेका उनको परिवारमा दुईजना दिदीहरु छन्। कुराकानीकै क्रममा उनले सुनाएको अर्को गीत थियो नरेन्द्र प्यासीको स्वरमा रहेको के भुल भयो र प्रिया, म सँग बोल्दीनौँ, उज्यालो दिन उघार्दै पर्दा, रातको खोल्दीनौँ, म सँग बोल्दीनौँ......।   
 

 

कमेन्ट लोड गर्नुस