सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैङ्कले लिलाम गरेको घरमाथी पार्टीको कब्जा

२०८२ पुष २७, ११:३७ खबर संवाददाता

कञ्चनपुरः एनएमबी बैङ्क कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका–१० का अजय विकको लिलाम गरेको घरलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जामा लिएको छ। 

बैङ्क कर्मचारीले जग्गा कारोबारीसितको मिलेमतोमा झलारी बजारमा रहेको पाँच धुरमा बनेको साढे तीन तलाको घर नेकपा (माओवादी) ले कब्जामा लिएको छ। सो घरमा पार्टीको झन्डा र कार्यालय राखेर आफ्नो कब्जामा लिएको जानकारी दिएको छ। नेकपा (माओवादी) कञ्चनपुर जिल्लाका न्याय विभाग प्रमुख रमन सीले विक परिवारलाई जानकारी नदिएर बैङ्कले लिलाम गरेको भन्दै घर कब्जामा लिएको बताए। उनले पिडित विक परिवारलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै न्यायोचित ढङ्गले छानबिन नभएसम्म घर कब्जामा रहने बताए। 

नेकपा (माओवादी) का केन्द्रीय सदस्य ललितजङ्ग सिंहले अजय विकको घरजग्गा दलालसँग मिलेमतो गरी बैङ्कले लिलाम गरी परिवारलाई बिचल्लीमा पारेका कारण घर कब्जामा लिएको बताए। अहिले सो घर पूर्ण रूपमा पार्टीको कब्जामा रहेकाले कसैले प्रयोग गर्न नपाउने उनको भनाइ छ। एनएमबी बैङ्कले विकले २०७५ सालमा लिएको ऋणको साँवाब्याज तिर्न आनाकानी गरेको भन्दै दुई वर्षअघि २०८० चैतमा विकले बैङ्कमा राखेको दुई करोड मूल्य बराबरको घर लिलाम गरेको थियो।

एनएमबी बैङ्कले शुक्लाफाँटा नगरपालिका–१० का अजय विकको धितो लिलाममा जालसाजी र किर्ते गरेको भन्दै प्रहरी जाहेरीसमेत परेको छ। लिलाम घर किन्ने धीरेन्द्र साउद, उनकी श्रीमती तुलसीकुमारी डाँगा र बाटो सिफारिस दिने वडा नम्बर १० का वडासचिव जुनाकुमारी सेराविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी परेको छ। एनएमबी बैङ्क कञ्चनपुरको झलारी शाखाबाट १५ वर्षको कर्जा भुक्तानी अवधि राखी विकले होम लोन शिर्षकमा २९ लाख ५० हजार रुपियाँ ऋण लिएका थिए। 

बैङ्कले लिलामका लागि १५ दिने सूचना निकालेको थाहा पाएपछि अजयले लिलामी नगरिदिन भनेर तीन लाख नगद र एक लाखको चेक बोकेर एनएमबी बैङ्कमा जाँदा पनि पैसा नबुझेको उनको आरोप छ। एनएमबी बैङ्क झलारी शाखाका प्रमुख दीपक कार्कीले प्रक्रियागत रूपमा घर लिलाम गरेको बताए।  

एनएमबी बैङ्क कञ्चनपुरको झलारीबजारमा रहेको शाखामा जेनजी युवा सङ्घर्ष समितिले तालाबन्दीसमेत गरेका छन्। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले तालाबन्दी खुलाउने विषयमा छलफल भइरहेको बताए।  

कमेन्ट लोड गर्नुस