सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुरमा २ हजार ३२७ निर्वाचन प्रहरी भर्ना

२०८२ पुष २६, ०२:५८ खबर संवाददाता

कञ्चनपुर: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुर जिल्लामा दुई हजार ३२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ।

निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्ति समितिले जिल्लामा आवश्यक पर्ने निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरेको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका लागि आवश्यक निर्वाचन प्रहरी भर्नासम्बन्धी एकीकृत सूचना शुक्रबार सार्वजनिक गरिएको समितिले जनाएको छ।

समितिका अनुसार छनोट भएका उम्मेदवारलाई निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत ९नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल० कार्यविधि २०८२ बमोजिम सुविधा उपलब्ध गराइनेछ। निर्वाचन प्रहरीका लागि शुक्रबारदेखि आगामी माघ १ गतेसम्म आवेदन दिन सकिने छ।

जिल्लामा नेपाल प्रहरीतर्फ दुई हजार ३५ जना र सशस्त्र प्रहरी बल, नेपालतर्फ २९२ जना निर्वाचन प्रहरी माग गरिएको छ। आवेदकहरूले जिल्लास्थित नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालका कार्यालयबाट दरखास्त फारम बुझाउन सक्ने जनाइएको छ।

दरखास्त दिने उम्मेदवार फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो।

विशेष गरी पूर्व सुरक्षाकर्मी, पूर्व वन रक्षक, यसअघि म्यादी प्रहरीका रूपमा काम गरिसकेका व्यक्ति तथा सुरक्षा निकायबाट सेवानिवृत्त भएकालाई प्राथमिकता दिइने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले बताउनुभयो।

साथै, २०८१ माघ १ गतेदेखि २०८२ पुस मसान्तसम्म नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बलमा विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती तथा स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूले प्रवेशपत्र पेश गरेमा उनीहरूलाई पनि प्राथमिकतामा राखिनेछ।

यसअघि सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्ति तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकलाई समेत प्राथमिकतामा राखिएको छ।

निर्वाचन प्रहरीका लागि नेपाली नागरिक हुनुका साथै साधारण लेखपढ गर्न जान्ने, कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, भर्नाको समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनसँग आबद्ध नभएको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने सर्त राखिएको छ।

आवेदकको प्रारम्भिक छनोट माघ ५ देखि ९ गतेसम्म गरिने र अन्तिम नतिजा माघ १२ गते प्रकाशित गरिने छ। छनोट भएका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण दिइनेछ।

नियुक्ति पाएको मितिदेखि निर्वाचन प्रहरीले ४० दिन वा सरकारले तोकेबमोजिम काम गर्नुपर्नेछ। निर्वाचन प्रहरीलाई प्रहरी जवानको सुरु तलब स्केलअनुसार प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनका लागि कुल ३४ हजार ७ सय ७६ रुपैयाँ पारिश्रमिक दिइनेछ।

यसका साथै सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाउने दररेटअनुसार ४० दिनका लागि खाद्यान्न खर्च, निर्वाचन अवधिमा आउजाउका लागि ८ सय ४६ रुपैयाँ तथा चार दिनका लागि प्रतिदिन ३ सयका दरले १ हजार २ सय रुपैयाँ खाजा खर्च उपलब्ध गराइने छ।
 

कमेन्ट लोड गर्नुस