पाइलट मिलन चौधरी सम्मानित
धनगढीः थारू समुदायको विभिन्न विषयमा बहस चलाउँदै आएको बातचित घरले पाइलट मिलन चौधरीलाई सम्मान गरेको छ।
थारू समुदायको इज्जत बढाउने काम गरेको भन्दै बातचित घरले उनलाई सम्मान गरेको हो। कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुर घर भएका चौधरीले फिलिपिन्सको टप फ्लाइट एकेडेमी अफ एभिएसन (आइएनसी)बाट पाइलट कोर्स पूरा गरेका छन्। उनले २०१ घण्टा जहाज उडाएर कमर्सियल पाइलटको लाइसेन्स प्राप्त गरेका छन्।
उनलाई बातचित घरका बरघरिया ठाकुर करियाप्रधान र किसन्वा माधव थारुले खादा मालासहित सम्मानपत्र प्रदान गरे। थारू समुदायबाट पहिलो महिला पाइलट बनेर इतिहास रचेकी धनगढी उपमहानगरपालिका–१३ की टीका चौधरीलाई केही दिनअगाडि मात्र बातचित घरले सम्मान गरेको थियो।
मिलन र टीका दुबैले थारू समुदायको इज्जत बढाउने काम गरेको बरघरिया करियाप्रधानले बताए। धनगढीको एक्सिस विद्याश्रमबाट एसएलसी उत्तीर्ण गरी चौधरी काठमाडौंमा रहेको नेपाल मेगा कलेजबाट विज्ञानमा प्लस टु उत्तीर्णपछि पाइलट तालिमका लागि फिलिपिन्स गएका थिए। उनले अब मुलुकमै हवाइजहाज उडाउने चाहना रहेको बताए।