सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा सुत्केरी महिलाको मृत्यु, तेस्रो दिन शव उठाइयो

२०८२ पुष २५, ०६:३६ नारायण अवस्थी

धनगढी: सेती प्रादेशिक अस्पतालमा सुत्केरी महिलाको मृत्यु हुँदा शव तेस्रो दिन मात्रै उठाइएको छ्म कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ५ सिम्रानाकी ३३ वर्षीय  राधिका  नेपालीको पुस २३ गते मृत्यु भएको हो। २३ गते बिहान अस्पताल आएकी उनको शल्यक्रिया गरेर बच्चा जन्मेपछि अत्यधिक रक्तस्राव हुँदा मृत्युु भएको अस्पतालले जनाएको छ।

पुस १३ गते सेती अस्पतालमा चेकजाँच गर्दा राधिकालाई पुस २३ गते शल्यक्रिया गर्ने मिति दिइएको मृतक राधिकाकी भाउजू मिना नेपालीले बताइन्। धनगढीकै एक मेडिकलमा नियमित चेकजाँच गराउँदै आएकी उनलाई पुस १३ गते प्ल्यासेन्टा अगाडि लागेको भन्दै सेती प्रादेशिक अस्पतालमा भिडियो एक्सरे गर्न र चेकजाँच गर्न पठाइको राधिकाकी भाउजू मिनाले बताइन्।

राधिका गत असारदेखि आफ्नो माइतीघरमा बस्दै आएकी थिइन्। श्रीमान मिनबहादुर परियार रोजगारीका लागि भारतको पुणेमा रहेकाले उनी अस्पताल जान आउन सजिलो हुने भन्दै गोदावरी-८ स्याउलेस्थित माइतीघरमा बस्दै आएको मृतका बुवा तुलाराम नेपालीले बताए। 'म र अर्को छोरी राधिकासँग २३ गते बिहान ८ बजे  डाक्टर भेट्न सेती अस्पतालमा पुगेका हौँ। डाक्टरले चेकजाँच गरेर दिउँसो १२ बजे शल्यक्रिया कक्षमा लगे, एक बजे बच्चा निकालियो, बच्चा जन्मेको करिब डेढ घण्टापछि पाठेघरको समस्या रहेकोे भन्दै रगत र औषधी मगाउन थाले,' उनले भने, 'सात पोका रगत चढाएर पनि छोरीलाई बचाउन सकिएन। डाक्टरले अत्यधिक  रक्तस्राव भएर मृत्यु भएको भनेका छन्।'

सेती प्रादेशिक अस्पतालले भने प्ल्यासेन्टा अर्थात् साल पाठेघरमा जेलिएको तथा पाठेघरको भित्ता छेडेर निक्लिएकोले शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएकाले राधिकाको मृत्यु भएको जनाएको छ। मृतकका आफन्तले भने  बच्चा जन्मेको निकै बेरपछि पाठेघर फाल्नुपर्ने भनिएको दाबी गरेका छन्।

मृतक राधिकाको पहिलो सन्तान  साढे पाच वर्षको छन् भने दोस्रो सन्तान छोरीको मुख हेर्न नपाउँदै अत्यधिक रक्तस्रावका कारण उनको पुस २३ गते साँझ करिब ७ बजे  ज्यान गएको अस्पतालले जनाएको छ। राधिकाका श्रीमान मीनबहादुर परियार भने भारतको पुणेमा काम गर्छन्।

अस्पतालले भिडियो एक्सरेमा जटिल अवस्था छ भन्ने उल्लेख नहुँदा, शल्यक्रिया गर्नुपूर्व पाठेघरको अवस्थाबारे शल्यक्रिया टोलीलाई थाहा हुन नसकेको बताएको छ। मृतकमा प्ल्यासेन्टा प्रिभिया विथ प्ल्यासेन्टा परक्रेटाको समेत समस्या रहेकाले पाठेघरको शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव हुँदा बिरामी बचाउन नसकिएको स्पष्ट पारेको छ। अस्पतालले नवजात शिशुको अवस्था भने सामान्य रहेको जनाएको छ।

मृतकका आफन्तले अस्पतालले उपचारमा लापरबाही गरेको भन्दै उचित क्षतिपूर्ति दिनुपर्ने तथा उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गर्दै शव उठाउन अस्वीकार गर्दै आएका थिए। उनीहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिएका थिए। प्रशासनमा भएको छलफलपछि अस्पतालले बालिकाको लालनपालनका लागि आर्थिक सहयोग दिने कागज गरेपछि शुक्रवार साँझ मात्रै आफन्तले मृतकको शव बुझेका छन्।

राधिकामा देखिएको समस्या के हो?
उपचारमा संलग्न चिकित्सकले राधिकामा 'प्ल्यासिन्टा प्रिभिया विथ प्ल्यासिन्टा परक्रेटा' भन्ने समस्या देखा परेको बताएका छन्। जुन गर्भावस्थामा देखिने गम्भीर र जोखिमपूर्ण अवस्था हो। अस्पतालका स्त्री तथा प्रसूति विभाग प्रमुख डाक्टर खगेन्द्रराज भट्टका अनुसार प्ल्यासिन्टा प्रिभियामा साल गर्भाशयको तल्लो भगमा बस्ने समस्या हो। गर्भावस्थामा प्ल्यासिन्टा (साल) बच्चालाई खाना र अक्सिजन दिने अंग हो।

सामान्यतया यो गर्भाशयको माथिल्लो भागमा हुन्छ। तर प्ल्यासिन्टा प्रिभियामा प्ल्यासिन्टा गर्भाशयको तल्लो भागमा बस्छ र कहिलेकाहीँ बच्चा जन्मने मुख (सर्भिक्स) नै छोप्छ, यसले अचानक र धेरै रक्तस्राव गराउन सक्छ, विशेषगरी गर्भको अन्तिम महिना वा सुत्केरी बेला।

यस्तै डाक्टर भट्टका अनुसार प्ल्यासिन्टा परक्रेटाको अवस्था थप जटिल गम्भीर अवस्था हो। यसमा प्ल्यासिन्टा गर्भाशयको भित्री तह मात्र होइन, गहिरो रूपमा गर्भाशयको मांसपेशी छेड्दै कहिलेकाहीँ मूत्रथैली (ब्लाडर) जस्ता अन्य अंगसम्म टाँसिन्छ; यसले सुत्केरीका बेला अत्यधिक रक्तस्राव भई ज्यान जोखिममा पर्ने अवस्था सिर्जना गर्न सक्छ।

दुवै सँगै भएमा के हुन्छ?
'प्लासेन्टा प्रेभिया विथ प्ल्यासेन्टा परक्रेटा' भन्नाले प्ल्यासिन्टा तल्लो भागमा छ र अत्यधिक गहिरो गरी गर्भाशय/छेउका अंगसम्म टाँसिएको छ भन्ने बुझ्नुपर्ने डाक्टर भट्टले बताए।

उनका अनुसार यो अत्यन्त उच्च जोखिमको गर्भावस्था मानिन्छ। यस्तो अवस्थामा आमामा भयानक रक्तस्राव हुने, सुत्केरीमा गर्भाशय निकाल्नुपर्ने (हिस्टेरेक्टोमी) अवस्था शिशु र आमाको ज्यान जोखिममा पर्ने अवस्था आउँछ। यस्तो अवस्थाबाट बच्न नियमित विशेषज्ञ चिकित्सकको निगरानी, प्रायः समयअघि योजनाबद्ध सिजेरियन,ठूला अस्पताल, रक्त बैंक र आइसीयू सुविधा भएको ठाउँमा सुत्केरी गराउनुपर्ने हुन्छ।

कतिपय अवस्थामा गर्भाशय जोगाउन नसक्ने सम्भावना हुन्छ भने अत्यधिक रक्तस्राव हुँदा सुत्केरीको ज्यानै जाने जोखिम हुने बताइएको छ।

चिकित्सकहरूले 'प्ल्यासिन्टा प्रिभिया विथ प्ल्यासिन्टा परक्रेटा' एक अत्यन्त गम्भीर गर्भावस्था जटिलता हो, जसमा ढिलाइ वा लापरवाही ज्यानकै लागि खतरा रहने बताएका छन्।  'प्ल्यासिन्टा प्रिभिया विथ प्ल्यासिन्टा परक्रेटा' भएको भिडियो एक्सरेबाट पत्ता लगाउन सकिने चिकित्सकले बताएका छन्। उक्त समस्यामा शल्यक्रिया गर्न सकिने तर जोखिमपूर्ण हुने बताइएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस