धनगढी-१६ का होमस्टे सञ्चालक चौधरी सम्मानित
धनगढीः चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा धनगढी–१६, कैलालीका होमस्टे सञ्चालक लक्ष्मीनारायण चौधरीलाई 'प्रेरक पर्यटन व्यवसायी सम्मान' प्रदान गरिएको छ। सुदूरपश्चिम प्रदेशमा पर्यटन व्यवसायको संरक्षण र प्रवर्द्धन गर्दै स्थानीय संस्कृति, परम्परा तथा समुदायको उत्थानमा पुर्याएको उल्लेखनीय योगदानको कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
महोत्सवको चौथो दिन विशेष समारोहका बिच चैतन्य पाठशालाको तर्फबाट चौधरीलाई मायाको चिनो, सम्मान–पत्र र दोसल्ला प्रदान गर्दै सम्मान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनु भएका डा। चिन्तामणि नाथ योगी विशिष्ट अतिथि सहायक जिल्ला प्रमुख अधिकारी किरण जोशीले उनलाई सम्मान पत्र सहित सम्मानित गरेका हुन्।
चौधरीले ग्रामीण पर्यटनको सम्भावना उजागर गर्दै होमस्टे अवधारणामार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना, सांस्कृतिक पहिचानको संरक्षण तथा समुदायको आर्थिक सबलीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। पर्यटकलाई स्थानीय जीवनशैली, खानपान, संस्कृति र परम्परासँग नजिकबाट चिनाउने प्रयासले सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश दिएकोमा उनलाई सम्मान गरिएको हो।
सम्मान ग्रहण गर्दै चौधरीले आफूलाई प्राप्त सम्मानले अझ जिम्मेवारी बढाएको अनुभूति भएको बताउँदै भविष्यमा पनि पर्यटन व्यवसायलाई दिगो, समुदायमैत्री र संस्कृतिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले भने, 'पर्यटन केवल आम्दानीको स्रोत मात्र होइन, यो हाम्रो संस्कृति र पहिचानलाई संसारसामु चिनाउने माध्यम पनि हो। यदि स्थानीय समुदायले सहकार्य गरे भने पर्यटनले गाउँ–गाउँमा समृद्धिको ढोका खोल्न सक्छ।'
उनले विद्यार्थीहरूलाई आफ्नै ठाउँको सम्भावना पहिचान गरी पर्यटन, कृषि र उद्यमशीलताजस्ता क्षेत्रमा अवसर खोज्न आग्रह गर्दै युवाको सक्रियताले मात्र स्थानीय विकास सम्भव हुने उल्लेख गरेका छन्।
पर्यटनजस्तो क्षेत्रमा सफल उदाहरण प्रस्तुत गर्ने व्यक्तित्वलाई सम्मान गर्नु विद्यार्थीमा स्थानीय सम्भावनाप्रति विश्वास जगाउने महत्त्वपूर्ण कदम भएको चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले बताए । 'लक्ष्मीनारायण चौधरीजस्ता व्यवसायीहरूले आफ्नै ठाउँमै अवसर सिर्जना गर्न सकिन्छ भन्ने प्रेरणादायी सन्देश दिएको समेत अध्यक्ष जोशीले बताए।
चैतन्य दोस्रो विद्यार्थी महोत्सवअन्तर्गत शैक्षिक, खेलकुद, सांस्कृतिक, विज्ञान तथा प्रविधि प्रदर्शनी, साहित्यिक कार्यक्रम तथा स्थानीय संस्कृति प्रवर्द्धनसम्बन्धी गतिविधिहरू सञ्चालन भइरहेका छन्।
आयोजकका अनुसार आगामी दिनहरूमा पनि पर्यटन, शिक्षा, उद्यमशीलता, सामाजिक सेवा तथा प्रविधिका क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै विद्यार्थीलाई प्रेरित गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।