सुदूर नेपाललाई विश्वसँग जोड्दै

काङ्ग्रेस सुदूरपश्चिमका ६ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा!

२०८२ पुष २५, ०१:२४ नारायण अवस्थी

धनगढीः नेपाली काङ्ग्रेसभित्र आन्तरिक विवाद थप चर्किँदै गएको छ। विशेष र नियमित महाधिवेशनका पक्षमा काङ्ग्रेस भित्र कित्ताकाट हुँदा त्यसको असर जिल्ला हुँदै पालिकासम्म पुगेको छ।

काङ्ग्रेसले आह्वान गरेको विशेष महाधिवेशनमा भाग लिने र नलिने भन्दै नेताहरू दुई समूहमा विभाजित भएका छन्। सुदूरपश्चिमका ६ जना जिल्ला सभापतिले भने विशेष महाधिवेशनमा भाग नलिने घोषणा गर्दै संयुक्त विज्ञप्ति सार्वजनिक गरेका छन्।

विशेष महाधिवेशनमा भाग नलिन विज्ञप्ति निकाल्नेका काङ्ग्रेस कैलाली सभापति नारायणदत्त भट्ट, कञ्चनपुर सभापति पदम बोगटी, डडेल्धुरा काङ्ग्रेस सभापति भीमबहादुर साउँद, डोटीका सभापति नरेन्द्रबहादुर सिंह, अछामका सभापति पुष्पबहादुर शाह र बझाङका सभापति खडक बोहरा छन्।

२०८२ पुस २३ गते जारी विज्ञप्तिमा उनीहरूले पार्टी विधान विपरीत ढंगले विशेष महाधिवेशन बोलाइएको दाबी गरेका छन्। विधानले तोकेको प्रक्रिया, समयसीमा र आवश्यक पूर्वतयारी पूरा नगरी विशेष महाधिवेशन घोषणा गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

विज्ञप्तिमा पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमै गर्नुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै, त्यसलाई छल्न विशेष महाधिवेशनको नाममा प्रक्रिया अघि बढाइएको आरोप लगाइएको छ। विधानअनुसार गर्नुपर्ने सक्रिय सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, वडा, पालिका, प्रदेश र जिल्ला तहका अधिवेशन सम्पन्न नभएसम्म केन्द्रिय महाधिवेशन वैधानिक नहुने उनीहरूको ठहर छ।

सभापतिहरूले केन्द्रीय कार्यसमितिको सामूहिक निर्णय बिना केही पदाधिकारी तथा नेताहरूले व्यक्तिगत रूपमा विशेष महाधिवेशन आह्वान गर्नु पार्टी विधानविपरीत भएको उल्लेख गरेका छन्। यस्ता गतिविधिमा संलग्न नहुन र पार्टी एकतालाई कमजोर बनाउने काम नगर्न सबै नेता–कार्यकर्तालाई आग्रह गरिएको छ।

विज्ञप्तिमा पार्टीका सबै तहका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, शुभेच्छुक संस्था तथा विदेशस्थित जनसम्पर्क समितिका पदाधिकारी र सदस्यहरूलाई पार्टी विधान र लोकतान्त्रिक मूल्य–मान्यताभित्र रहन आह्वान गरिएको छ।

६ जिल्ला सभापतिहरूको यो कदमले काङ्ग्रेसभित्रको शक्ति संघर्ष, महाधिवेशनको वैधता र नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। विशेष महाधिवेशनको तयारी भइरहेका बेला आएको यो घोषणाले आगामी दिनमा पार्टीभित्रको विवाद अझ गहिरिने संकेत देखिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस