जाजरकोटमा जिप दुर्घटनाबाट दुईको मृत्यु
जाजरकोटः जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको छेडागाड नगरपालिका ८ घोगीदेखि थलह जाने क्रममा नाउरीघाट भन्ने स्थानमा जिप दुर्घटना भएको स्थानीयले जानकारी दिएका छन्।
जिल्ला समन्वय समिति जाजरकोटका सदस्य एवं स्थानीयवासी खड्कबहादुर बुढाले दुर्घटनामा परी सोही स्थानका २५ वर्षीय राजु अधिकारी र ६५ वर्षीय नन्दकला अधिकारीको मृत्यु भएको जानकारी दिए।
जीपमा चालकसहित पाँच जना यात्रु सवार रहेकोमा अन्य दुई जना यात्रु र चालक घाइते रहेको बुढाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी वसन्तकुमार शर्माले दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको खबर स्थानीयले गरे लगत्तै प्रहरी घटनास्थलतर्फ लागेको र विस्तृत घटना विवरण आउन बाँकी रहेको जानकारी दिए।