जाली गाउँमा पाँचौँ माघी मेला पुस ३० देखि माघ २ गतेसम्म हुने
धनगढी: धनगढी उपमहानगरपालिका–६ स्थित जाली गाउँमा माघी पर्वको अवसरमा यस वर्ष पनि भव्य माघी मेला आयोजना हुने भएको छ। जाली गाउँ सामुदायिक वनको खेलमैदानमा पुस ३० गतेदेखि माघ २ गतेसम्म मेला सञ्चालन हुने आयोजकले जनाएको छ।
जाली गाउँ माघी मेला संस्थाको आयोजनामा हुन लागेको यो मेला यस वर्ष पाँचौँ संस्करणका रूपमा आयोजना हुन लागेको हो। स्थानीय थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको संस्थाका अध्यक्ष फुलाराम चौधरीले जानकारी दिए।
मेलामा थारु समुदायका मौलिक खानपान, पहिरन, कला र संस्कृतिलाई झल्काउने विभिन्न कार्यक्रम प्रस्तुत गरिने छन्। थारु परिकारका स्टल, सांस्कृतिक नाचगान, झाँकी तथा सांगीतिक कार्यक्रमहरू मेलाका मुख्य आकर्षण रहने आयोजकले जनाएको छ। मेलामा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
माघी पर्वको अवसरमा थारु समुदायको जीवनशैली नजिकबाट बुझ्न, स्थानीय स्वाद र संस्कृतिमा रमाउन सबैलाई मेलामा सहभागी हुन आयोजकले आग्रह गरेको छ।
हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको यस मेलाले सामाजिक सद्भाव, आपसी सहकार्य तथा स्थानीय अर्थतन्त्रलाई समेत टेवा पु¥याउँदै आएको आयोजकको भनाइ छ। हाल मेलाको तयारी तीव्र रूपमा अगाडि बढिरहेको संयोजक चौधरीले बताए। जाली गाउँ माघी मेला अहिले धनगढी उपमहानगरपालिका तथा आसपासका क्षेत्रका सर्वसाधारणका लागि एक महत्वपूर्ण सांस्कृतिक उत्सवका रूपमा स्थापित हुँदै गएको छ।