त्रिनगर भन्सारमा राजस्व संकलन घट्यो
धनगढीः सुदूरपश्चिमको प्रमुख भन्सार नाकामध्ये एक त्रिनगर भन्सारको राजस्व संकलनमा कमी आएको छ। गत वर्षको तुलनामा उक्त भन्सारको राजश्व संकलनमा कमी आएको हो।
विलासिताका सामान तथा उपभोग्य वस्तु आयातमा गिरावटसँगै भन्सारको राजस्व संकलन प्रभावित भएको देखिएको छ।
भन्सार अधिकृत प्रकाश तिमिल्सिनाले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको तथ्याङ्क तुलना गर्दा भन्सार राजस्व ५.१४ प्रतिशतले खुम्चिएको छ।
उक्त भन्सारबाट गत आर्थिक वर्षको साउनदेखि मंसिरसम्म प्रमुख २० वस्तुहरूबाट २ अर्ब ६० करोड ४३ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा यो रकम घटेर २ अर्ब ४७ करोड ४ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ।
कैलाली भन्सार कार्यालयको राजस्वको मेरुदण्ड अझै पनि पेट्रोलियम पदार्थ नै देखिएको छ। अन्य वस्तुको आयात कम भए पनि डिजेल र पेट्रोलको आयातम बढेको देखिन्छ। चालु आर्थिक वर्षको समीक्षा अवधिमा डिजेल आयात ३.४१ प्रतिशतले बढेर १ अर्ब १५ करोड ६ लाख रुपैयाँ बराबरको राजस्व योगदान गरेको छ। त्यस्तै, पेट्रोलको आयातबाट ७२ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको छ, जुन गत वर्षको समीक्षा अवधिको तुलनामा २ प्रतिशतले बढी हो।
‘समग्र व्यापारमा मन्दी देखिए पनि इन्धनको खपत नघट्नुले यातायात क्षेत्र चलायमान नै रहेको संकेत गर्छ,’ भन्सार अधिकृत तिमिल्सिनाले भने। उनका अनुसार खाना पकाउने एलपी ग्यासको राजस्वमा भने करिब ४ प्रतिशतको सामान्य गिरावट देखिएको छ। यो भन्सार नाकाबाट तयारी प्याकेटका खानेकुराको आयातमा गिरावट आएको छ। विगतमा भारतीय बजारबाट ठुलो मात्रामा भित्रिने दालमोठ, भुजिया, चमेना र पापडजस्ता वस्तुहरूको आयात चालु आर्थिक वर्षमा घटेको छ।
दालमोठ र भुजियाबाट गत वर्ष साउनदेखि मंसिरसम्म १५ करोड ८ लाख राजस्व सङ्कलन भएकोमा यस वर्ष सो अवधिमा जम्मा ४ करोड ९१ लाख रुपैयाँमात्र सङ्कलन भएको छ। यो भनेको ६७.४४ प्रतिशतको गिरावट हो। भारतीय पापडको आयात घटेको छ। गत वर्ष समीक्षा अवधिमा २ करोड ८८ लाख राजस्व भारतीय पापड आयातबाट भएको थियो। यस वर्ष सोही अवधिमा ९०.६४ प्रतिशतले राजस्व घटेर २६ लाख रुपैयाँमा खुम्चिएको छ। यस्तै, तयारी सुपको आयातमा पनि ६२.७२ प्रतिशतको गिरावट आएको छ।
सडक निर्माणमा प्रयोग हुने बिटुमिन (अलकत्रा) को आयात भने १०७.९६ प्रतिशतले बढेको छ। गत वर्ष बिटुमिन आयातबाट २ करोड २९ लाख रुपैयाँ राजस्व उठेकोमा यस वर्ष ४ करोड ७६ लाख राजस्व सङ्कलन भएको छ। यस्तै निजी घर वा भवन निर्माणमा प्रयोग हुने फिनिसिङ सेरामिक्स (टायल) र ग्रेनाइटको आयातमा भने भारी मन्दी छाएको छ। सेरामिक्सको राजस्व ६०.६९ प्रतिशत र ग्रेनाइटको राजस्व ३९.१४ प्रतिशतले घट्नुले घरजग्गा कारोबार र निजी आवास निर्माणमा मन्दी देखिएको हो।
उद्योगतर्फ कागज तथा पेपरबोर्डको आयातमा १६७.२३ प्रतिशतको उछाल आएको छ। यसले प्याकेजिङ तथा मुद्रण उद्योगमा केही गतिविधि बढेको देखाउँछ। यस्तै पशुपन्छीको दानाका लागि प्रयोग हुने भटमासको पिनाको आयात २३.८६ प्रतिशतले घट्नु र बस–ट्रकका टायरको आयात ९ प्रतिशतले घट्नुले कृषि तथा यातायात क्षेत्रमा केही शिथिलता रहेको देखाउँछ।