बिदेसिएकाहरू माघी मनाउन फर्किंदै
धनगढीः थारू समुदायमा विशेष रूपमा मनाइने माघी पर्व मनाउनका लागि रोजगारीको सिलसिलामा भारत गएका थारू समुदायका व्यक्ति धमाधम स्वदेश फर्किन थालेका छन्।
माघ सबैभन्दा ठुलो पर्व रहेकाले उनीहरू पर्वमा रमाउनका लागि स्वदेश फर्किरहेका हुन्। माघ पर्व थारू समुदायको नयाँ वर्ष पनि हो। माघ १ गतेबाट यो समुदायको नयाँ वर्ष सुरु हुने गरेको छ। थारू समुदायमा पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म नाच्दै, रमाउँदै हर्षोल्लासपूर्वक माघ पर्व मनाउने चलन रहेको छ।
माघ आफूहरूको महत्वपूर्ण पर्व रहेकाले परदेसिएकाहरू टाढा टाढाबाट भए पनि सकेसम्म माघ मनाउन आउने गरेको बताइन्छ। माघ आफ्नो समुदायको निकै महत्वपूर्ण पर्व रहेकाले प्रत्येक वर्ष पर्व मनाउनका लागि घर फर्किने गरेको भारतको बेङ्गलोरमा काम गर्दै आएका घोडाघोडी नगरपालिकास्थित खोंपाका श्रवण चौधरीले बताए। उनले माघ पर्व मनाएर पुनः कर्मथलोमा फर्किने उल्लेख गरे।
नेपाल–भारत गौरीफन्टा, चन्दनचौकी, बेलापरसुआ, खक्रौलालगायतका नाका भएर परदेसीहरू माघ मनाउन स्वदेश फर्किरहेका छन्। माघ पर्वमा थारू समुदायमा वर्षभरिको गतिविधिका समीक्षा गर्नुका साथै आगामी दिनका लागि योजना बनाउने चलन छ। समाज, परिवार दुवैमा समीक्षा गर्ने र योजना बनाउने कार्य हुने गर्दछन्।
माघ पर्वमा घरपरिवारमा छलफल गरेर वर्षभरिका लागि योजना बनाउने गरिएकाले पर्व मनाउन स्वदेश फर्केको गौरीगङ्गा नगरपालिकास्थित राजीपुरका जितबहादुर चौधरीले बताए। उनले आफूहरू मुम्बईबाट काम गरेर फर्केको जानकारी दिए। खेतीपातीको काम सकिएपछि थारू समुदायबाट ठुलो सङ्ख्यामा युवापुस्ता कामकोे खोजीमा भारत जाने गरेका छन्।
माघनजिक आइसकेकाले थारू समुदायमा पर्वको तयारी भइरहेको छ। अहिले कुटानीपिसानी गर्ने, जङ्गलबाट पात टिपेर दुनाटपरी बनाउनेलगायतका कार्य भइरेका छन्। माघ पर्वमा यो समुदायका धेरै जसो मानिसले जाँडको झोल खाने गर्छन् । महिना दिनअगाडिबाटै त्यसको तयारी भइरहेको जनाइएको छ। त्यस्तै बजारमा किनमेल काम पनि सुरु भएको छ। कैलारी गाउँपालिका–७ का कमलप्रसाद चौधरीले गाउँघरमा माघको सुरसार हुन थालेको बताए। उनले पर्व, विवाहलगायतका लागि जङ्गलबाट दाउरा सङ्कलन गरेर ल्याउने कार्य भइरहेको उल्लेख गरे।
माघ पर्वको पहिलो दिन मासुसहित खानपान गरेर धमार, ढुमरु गीत गाएर रमाइलो (राहरङ्गित) गर्ने, दोस्रो दिन बिहानै स्नान गरेर ठुलाबडाको आशिर्वाद लिने र तेस्रो दिन माघी डेवानी गरेर पर्व विसर्जन गर्ने चलन रहेको छ। माघ पर्वमा ठुलाबडाको आशीर्वाद लिइने गरेकाले आफूहरूका लागि माघ निकै महìवपूर्ण पर्व रहेको राजीपुरका लखन चौधरीले बताए।