शुक्लाफाँटामा अति विपन्न तीन सय बालबालिकालाई न्यानो लुगा
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अति विपन्न परिवारका ३०६ जना बालबालिकालाई जाडोबाट बच्न न्यानो लुगालगायतका अत्यावश्यक सामग्री वितरण गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यालयको सिफारिसमा ‘सेभ द् चिल्ड्रेन’ सुर्खेतले नगरपालिकाका विभिन्न वडाका लक्षित बालबालिकालाई सो सामग्री उपलब्ध गराएको हो। नगरपालिकाका १२ वटा वडामध्ये आठवटा वडाका अति विपन्न परिवारका बालबालिकालाई छनोट गरी उनीहरू अध्ययनरत विद्यालयमै पुगेर सामग्री वितरण गरिएको छ।
बालबालिकाहरूलाई जाडोबाट जोगिन १६ प्रकारका न्यानो सामग्रीहरू प्रदान गरिएको छ। जसमा ज्याकेट, स्वेटर, ट्राउजर, थर्मस, झोला, टोपी, स्कार्फ, पञ्जा, मोजा, गलबन्दी र भेष्टलगायत रहेका छन्। प्रत्येक बालबालिबालाई छ हजार ६४५ बराबरको सहयोग सामग्री उपलब्ध गराइएको छ। नगर उपप्रमुख कल्पना पन्तका अनुसार, वडा नं १ मा ४०, वडा नं २ मा २७, वडा नं ३ मा ४०, वडा नं ५ मा ११, वडा नं ६ मा ३०, वडा नं ७ मा ४०, वडा नं ११ मा ७४ र वडा नं १२ मा ४० जना अति विपन्न बालबालिकालाई अध्ययनरत विद्यालयमै पुगेर न्यानो सामग्री वितरणको कार्य गरिएको छ।
सामग्री वितरण कार्यक्रममा नगर उपप्रमुख पन्तले नगरपालिकाले विभिन्न सङ्घसंस्थासँग समन्वय गरी विपन्न बालबालिकालाई लक्षित राहतका कार्यक्रम सञ्चालन गरिरहेको बताए। “यस वर्ष आठवटा वडाका विपन्न बालबालिकाका लागि न्यानो लुगा उपलब्ध गराएका छौँ”, उनले भने, “बढ्दो शीतलहर र चिसोबाट बालबालिकालाई जोगाउन यो सहयोगले महत्वपूर्ण भूमिका खेल्नेछ, आगामी दिनमा पनि नगरपालिकाबाट यस्ता सहयोगलाई निरन्तरता दिइनेछ।”
कार्यक्रममा वडा नं ११ का अध्यक्ष शेरबहादुर साउँदले विपन्न परिवारका बालबालिकालाई उपलब्ध गराइने यस्तो सहयोगले सामुदायिक विद्यालयमा विद्यार्थीलाई टिकाउन र नियमित विद्यालय आउन सहज हुने बताए। त्यस्तै, वडा नं ५ का अध्यक्ष चक्रबहादुर खड्काले शारीरिक अपाङ्गता (विशेष क्षमता) भएका र विशेष कक्षामा पढ्दै आएका बालबालिकालाई न्यानो लुगाको अभाव रहेका बेला यो सहयोगले ठूलो राहत पुगेको उल्लेख गरे।
सिद्धभीम आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पन्तले चिसोका कारण विद्यार्थीले बीचमै विद्यालय छाड्ने (ड्रपआउट) र अनियमित हुने समस्या यो सहयोगले न्यूनीकरण गर्ने विश्वास व्यक्त गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज भट्टले दलित, जनजाति र विपन्न समुदायका बालबालिकाको पठनपाठनमा यो सहयोग कोसेढुङ्गा सावित हुने बताए।