काङ्ग्रेसको विशेष महाधिवेशनमा सुपबाट ४० प्रतिशत प्रतिनिधि सहभागी हुने दाबी
धनगढी: नेपाली काङ्ग्रेसको पुस २७ र २८ गते हुने विशेष महाधिवेशनमा सुदूरपश्चिमका ४० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ। नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिका उपसभापति भीम बडुवालले सुदूरपश्चिमबाट ४० प्रतिशत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुने दाबी गरेका हुन्।
केन्द्रमा मात्रै होइन जिल्ला र प्रदेशमा समेत काङ्ग्रेस नेताहरू विशेष र नियमित महाधिवेशनको पक्षमा विभाजित छन्। सुदूरपश्चिम प्रदेशमा भने नियमित महाधिवेशनको पक्षमा बहुमत महाधिवेशन प्रतिनिधि उभिएका छन्। प्रदेश सभापति लगायत पदाधिकारी र जिल्ला सभापतिहरूको बहुमत संख्या संस्थापन अर्थात् नियमित महाधिवेशनको पक्षमा उभिएको हो।
काङ्ग्रेसको सुदूरपश्चिममा ४५० जना महाधिवेशन प्रतिनिधि छन्। उनीहरू मध्ये ३० प्रतिशतले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए। विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका केहीले भने आफ्नो हस्ताक्षर दुरुपयोग भएको, आम निर्वाचनमा पार्टी लाग्नुपर्ने भन्दै हस्ताक्षर फिर्ता लिएको घोषणा गरेका छन्। तर विशेष महाधिवेशन पक्षका नेताहरूले भने पुस २७ र २८ मा हुने विशेष महाधिवेशनमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थन रहेको दाबी गरेका छन्।
खुलेर विशेष महाधिवेशनको पक्षमा लागेका कैलाली जिल्ला कार्यसमितिका उपसभापति भीम बडुवालले कम्तिमक चार जना जिल्ला सभापति, प्रदेश कार्यसमितिका केही पदाधिकारीसहित ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको विशेष महाधिवेशनमा समर्थन रहेको बताए। 'सुदूरपश्चिमबाट कम्तिमा चार जना जिल्ला सभापति, केही प्रदेश पदाधिकारी र महाधिवेशन प्रतिनिधिको पूर्ण समर्थन छ,' उनले भने, 'विशेष महाधिवेशनमा सुदूरपश्चिमबाट ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थन छ। अहिले नेताहरू दनादन काठमाडौँ आइराख्नु भएको छ।'
नेता बडुवालले सुदूरपश्चिमबाट विशेष महाधिवेशनको पक्षमा १८० जना महाधिवेशन प्रतिनिधिको समर्थन रहेको दाबी गरेका छन्। उनले महाधिवेशनमा उपस्थित हुन नसक्ने नेताहरूको समेत आफूलाई पूर्ण समर्थन रहेको बताएका छन्। विभिन्न कारण केही नेताहरूले विशेष महाधिवेशनमा भाग लिन नसके पनि समर्थन रहेको बडुवालको भनाइ छ। 'सुदूरपश्चिमबाट विशेष महाधिवेशनका लागि नेताहरू दनादन काठमाडौँ आइराख्नु भएको छ। हाम्रो पक्षमा उभिन समस्या भएका नेताहरूको पनि विशेष महाधिवेशनमा नैतिक समर्थन छ,' नेता बडुवालले भने।
सुदूरपश्चिमका नौ जिल्ला सभापति मध्ये ६ जिल्ला सभापति पार्टी सभापति शेरबहादुर देउवा निकट छन्। कैलालीका सभापति नारायणदत्त भट्ट, कञ्चनपुरका सभापति पदम बोगटी, डडेल्धुराका सभापति भीमबहादुर साउँद, डोटीका सभापति नरेन्द्रबहादुर सिंह, अछामका सभापति पुष्पबहादुर शाह र बझाङका सभापति खडका बोहरा संस्थापन पक्षका नेता हुन्। बैतडीका सभापति चतुरबहादुर चन्द, बाजुराका सभापति रामसिंह रावल र दार्चुलाका सभापति ललितसिंह बोहरा संस्थापन इतर पक्षका नेता हुन्।
नेपाली काङ्ग्रेस बाजुराका सभापति रामसिंह रावलले आफू विशेषमहाधिवेशनको पक्षमा नरहेको बताएका छन्। उनले विशेष महाधिवेशन पक्षधरले गरेको माग बमोजिसम नियमित महाधिवेशनको अगाडि नै गराउन नसकेकाले आफू अहिले विपक्षमा रहेको बताए। उनले बाजुरा जिल्लामा ३६ जना महाधिवेशन प्रतिनिधि रहेकामा बढीमा ८ जनाको प्रतिनिधिको विशेष महाधिवेशनमा उपस्थिति हुन सक्ने बताएका छन्। 'म विशेष महाधिवेशनको पक्षमा छैन। नियमित महाधिवेशनको जेठमा हुने भनिएको छ। कि त हस्ताक्षर बुझाए लगत्तै विशेव महाधिवेशन गराउन सक्नुपर्थ्यो, त्यतिबेला सकेनन्, अहिले नियमित महाधिवेशनको तालिका आएकाले म नियमितकै पक्षमा छु,' रावलले दिनेशखरसँग कुराकानी गर्दै भने।