सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिम तराईमा शीतलहर माघसम्म लम्बिने सम्भावना, जनजीवन र बालीनाली प्रभावित

२०८२ पुष २३, ०२:४६ खबर संवाददाता

धनगढी: सुदूरपश्चिमका कैलाली र कञ्चनपुरसहित पश्चिम तराई क्षेत्रमा शीतलहरको प्रभाव अझै केही समय कायम रहने जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ। पुसको पहिलो सातादेखि नै क्षेत्र शीतलहरको चपेटामा पर्दै आएको छ, जसका कारण अत्यधिक चिसो बढ्नुका साथै जनजीवन कष्टकर बनेको छ भने हिउँदे तरकारी र तोरीबालीसमेत प्रभावित हुन थालेका छन्।

कैलालीको अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालयका प्रमुख इन्जिनियर सञ्जय शाहका अनुसार दिउँसो केही समय घाम देखिए पनि हिउँदे वर्षा नहुँदा शीतलहरको प्रभाव माघसम्म लम्बिन सक्ने देखिएको छ। पश्चिमी वायुको प्रभाव नदेखिएकै कारण तराईसहित सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि हिउँदे वर्षा हुन सकेको छैन।

हाल बिहान र साँझ एक किलोमिटरसम्म कुहिरो लाग्ने र पाँच किलोमिटरसम्म दृश्यता घट्ने अवस्था देखिएको छ भने सिमसिमे शीत झरिरहेको छ। पुस सुरु भएयता कैलाली र कञ्चनपुरको न्यूनतम तापक्रम ६ देखि १२ डिग्री सेल्सियसको हाराहारीमा रहेको छ।

एकपटक पानी परेर मौसम खुले शीतलहरको प्रभाव कम हुने भए पनि हालको अवस्था जलवायु परिवर्तनको असरसमेत हुन सक्ने इन्जिनियर शाहले बताएका छन्। हिउँदमा वर्षा र हिमपात नहुँदा चिसो बढ्दै जाने र तरकारी उत्पादनमा ह्रास आउने जोखिम बढ्दै गएको उनको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस