गेटा अस्पताल पनि विश्वविद्यालय मातहत आउने
धनगढी: कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पहिलो पटक कार्यकारी नेतृत्व पाएको छ। मंगलबार बसेको विश्वविद्यालय सभाको दोस्रो बैठकले विश्वविद्यालयको मुख्य कार्यकारी प्रमुखका रूपमा उपकुलपति नियुक्त गरेको हो।
विश्वविद्यालय ऐन अनुसार उपकुलपति भन्दा माथि कुलपति र दुई जना सहकुलपति रहने व्यवस्था भए पनि विश्वविद्यालय सञ्चालनको कार्यकारी जिम्मेवारी उपकुलपतिकै हुन्छ। ऐन अनुसार प्रधानमन्त्री कुलपति तथा शिक्षा र स्वास्थ्य मन्त्री सहकुलपति रहने व्यवस्था गरिएको छ।
उपकुलपतिको भूमिका
उपकुलपति नियुक्त भएसँगै विश्वविद्यालय सञ्चालनको औपचारिक ढोका खुलेको छ। उपकुलपतिले विश्वविद्यालय सभा र कार्यकारी परिषद्को निर्णय कार्यान्वयन गर्ने, सम्पूर्ण गतिविधिमा सामान्य नियन्त्रण र रेखदेख गर्ने, विश्वविद्यालयको अल्पकालीन तथा दीर्घकालीन विकास कार्यक्रम तय गर्ने, आवश्यक स्रोत व्यवस्थापन गर्ने र जनगुनासोको सम्बोधन गर्ने जिम्मेवारी लिनेछन्। उपकुलपतिको कार्यकाल ४ वर्षको हुनेछ र कार्यसम्पादन सन्तोषजनक भएमा एकपटक पुनः नियुक्ति हुन सक्ने व्यवस्था ऐनमा छ।
गेटा अस्पताल विश्वविद्यालय मातहत
विश्वविद्यालय कार्यान्वयनमा आएपछि हाल स्वास्थ्य मन्त्रालय मातहत रहेको गेटा अस्पताल विश्वविद्यालय मातहत आउनेछ। ऐन अनुसार गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिक्षण अस्पताल स्थापना तथा सञ्चालन गरिने व्यवस्था छ। साथै, नेपाल सरकार, प्रदेश वा स्थानीय तहअन्तर्गतका अस्पतालसँग सम्झौता गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न वा ती अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न सकिनेछ।
यसैगरी विश्वविद्यालयअन्तर्गत अनुसन्धान केन्द्र, स्कुल तथा अन्य शिक्षण संस्था सञ्चालन गरिनेछ भने विश्वविद्यालय सञ्चालनका लागि छुट्टै कोषको पनि व्यवस्था गरिने ऐनमा उल्लेख छ।