सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा स्वास्थ्य बीमा कार्यक्रममा ३७ प्रतिशत नागरिक आबद्ध

२०८२ पुष २२, ०३:३४ अनुभव भट्ट

कैलाली: कैलाली जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम २०७२ चैत २५ गतेदेखि सञ्चालन हुँदै आएको छ । २०७८ सालको जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या ९ लाख ११ हजार १ सय ५५ रहेको छ भने अहिलेसम्म ३ लाख ४३ हजार ९ सय ४८ नागरिकले स्वास्थ्य बीमा गरेको जानकारी स्वास्थ्य बीमा कार्यालय कैलालीले दिएको छ, जुन कुल जनसंख्याको करिब ३७ प्रतिशत हो।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक, कुष्ठ रोगी, क वर्गका अपांग, एमडिआर टिबी संक्रमित र महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बीमा प्रदान गरिएको छ।

निःशुल्क बीमाका लागि महिला स्वास्थ्य स्वयंसेविकामा ५० प्रतिशत अनुदान संघीय सरकार र ५० प्रतिशत अनुदान प्रदेश सरकारले दिएपछि महिला स्वास्थ्य स्वयंसेविकाको पनि निःशुल्क बिमा हुँदै आएको छ। डोटी, डडेलधुरा र धार्चुलामा अत्यन्त गरिबलाई पनि निःशुल्क स्वास्थ्य बीमा गरिएको छ।

कैलाली स्वास्थ्य बीमा कार्यालय आईटी शाखाका गणेश चौधरीका अनुसार पाँच सदस्य रहेको परिवारले तीन हजार पाँच सय रुपैयाँमा स्वास्थ्य बीमा गराउन पाउँछन् भने बीमाबापत वार्षिक उपचार खर्च एक लाख रुपैयाँसम्म पाउँछ। पाँचभन्दा बढी सदस्य भएको परिवारले प्रतिसदस्य सात सय रुपैयाँ थपेर बीमा गर्न सक्ने व्यवस्था छ भने उपचार खर्च पनि प्रत्येक सदस्यको लागि बीस हजार रुपैयाँले बढ्ने व्यवस्था गरिएको छ।

स्वास्थ्य बीमा कार्यक्रमका लागि कैलालीका ५२ वडामा प्रत्येक वडामा एक–एक दर्ता सहयोगी खटाइएको छ, जसले जनतालाई बीमा प्रक्रियामा सहयोग पुर्याइरहेका छन्।


 

अनुभव भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

 

कमेन्ट लोड गर्नुस