ग्राहक बनेर छड्के हान्न पुगेका मन्त्रीसँग नै कर्मचारीले मागे घुस!
काठमाडौँः ग्राहक बनेर छाड्के हान्न मालपोत तथा नापी कार्यालय पुगेका मन्त्री कुमार इङनामलाई नै सरकारी कर्मचारीले घुस मागेका छन् । भूमि व्यवस्था, सहरी तथा गरिबी निवारणमन्त्री कुमार इङनामले सेवाग्राहीको रुपमा विभिन्न मालपोत तथा नापी कार्यालहरुमा छाड्ने गर्दा दुई वटा कार्यालयका कर्मचारीले घुस मागेको खुलेको छ । नाम नखुलाइएका ती कर्मचारीहरुलाई कारबाहीका लागि प्रक्रिया अघि बढाइएको छ।
मन्त्रीको सचिवालयमा कार्यरत ती कर्मचारीका अनुसार छड्के गर्ने क्रममा एक कर्मचारीले मन्त्री इङनामसँग घुस मागेका थिए। ‘त्यसपछि मन्त्रीज्यू गम्भीर हुनु भयो र उपत्यकाका सबै मालपोत कार्यालयमा कार्यालय प्रमुख परिवर्तन गर्न निर्देशन दिनुभयो,’ उनले भने, ‘यसको कार्यान्वयन हुन थालिसकेको छ। ती कर्मचारीले मन्त्रीसँग घुस माग्ने कर्मचारी र घुस मागिएको मालपोत कार्यालयको नाम खुलाउन चाहेनन्।
‘मालपोत तथा नापी कार्यालयमा बिचौलियो तथा ग्राहकसँग घुस माग्ने क्रमलाई जरैदेखि उखेल्नुपर्छ भन्ने विषयमा मन्त्रीज्यू निकै सचेत हुनुभएको छ,’ उनले भने, ‘यसका लागि उहाँले ३९ बुँदे एक्सन प्लान ल्याउनुभएको छ। यसको कार्यान्वयन भइसकेको छ।’
मन्त्रालयनिकट अर्को स्रोतका अनुसार मन्त्री हुनुअघि इङनाम मालपोत कार्यायल भक्तपुर गएको बेला पनि त्यहाँ कार्यरत एक कर्मचारीले इङनामसँग पाँच हजार रुपैयाँ घुस मागेका थिए। त्यतिबेला भक्तपुर मालपोत कार्यालय प्रमुखमा कुमार आचार्य थिए।आचार्य यतिबेला विशेष अदालतमा मुद्दा परेर निलम्बनमा परेका छन्। मन्त्री इङनामले भेष बदलेर ग्राहकका रूपमा विभिन्न मालपोत तथा नापी कार्यालयमा छड्के गर्न लागेको खबरले यतिबेला मालपोत तथा नापी कार्यालयमा कार्यरत कर्मचारीहरू सचेत भएका छन्। मन्त्रालययले मालपोत तथा नापी कार्यालयहरूमा हुने अनियमितता रोक्न तथा मालपोत तथा नापीमा सुधार गर्न एउटा सुशासन विज्ञ नियुक्ति गरेको छ।