सुदूर नेपाललाई विश्वसँग जोड्दै

सृजनशील गोदावरी सांस्कृतिक महोत्सव सम्पन्न

२०८२ पुष २२, ०३:०२ खबर संवाददाता

अत्तरिया: कैलालीको अत्तरियामा पुस ९ गतेदेखि सञ्चालन भएको ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ सोमबार १३औँ दिनमा चर्चित कलाकार दुर्गेश थापाको प्रस्तुतीसँगै सम्पन्न भएको छ। १३ दिनसम्म चलेको महोत्सव सभ्य र भव्य रूपमा सम्पन्न भएको आयोजक न्यु सृजनशील युवा क्लबले जनाएको छ।

समापन कार्यक्रममा क्लबका अध्यक्ष नरबहादुर राईले महोत्सव सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै दर्शकको उल्लेख्य उपस्थितिले आगामी वर्षमा पनि महोत्सव आयोजना गर्न हौसला मिलेको बताए। उनले महोत्सवका प्रत्येक टिकटबाट ५ प्रतिशत रकम असहाय बालबालिका र महिलाका लागि छुट्याइएको जानकारी दिए।

समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशीले महोत्सवले स्थानीय कला, संस्कृति र पहिचान संरक्षणमा महत्वपूर्ण योगदान दिएको बताए। युवा नेता लोक राज पाण्डेय (आगो) ले महोत्सवका लागि बनाइएको मञ्चलाई स्थायी खेल मैदानका रूपमा संरक्षण गर्नुपर्ने सुझाव दिए।

यस वर्षको महोत्सवमा १८० स्टल, थारु गाउँ, रमाइलो मेला राखिनुका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।
 

कमेन्ट लोड गर्नुस