सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सांसद चौधरीले भने "रास्वपा प्रवेश गरेको होइन"

२०८२ पुष २२, १२:०३ खबर संवाददाता

धनगढी: नागरिक उन्मुक्तिबाट निर्वाचित भएका प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीले रास्वपा प्रवेश नगरेको बताएका छन्। सञ्चार माध्यमा रास्वपा प्रवेश गरेको समाचार आए पनि आफूले पार्टी प्रवेश नगरेको उनले स्पष्ट पारेका छन्।

सोमवार काठमाडौँमा लक्ष्मण थारूलगायतले पार्टी प्रवेश गरेको कार्यक्रममा मञ्चमै देखा परेका चौधरीले मङ्गलवार पार्टी प्रवेश नगरेको तर कार्यक्रममा उपस्थिति भने भएको बताएका छन्।

उनले नागरिक उन्मुक्तिले नेकपासँग एकीकरण गरेकाले आफू अहिले जहाँ पार्टी एकीकरण भएको छ त्यही नै रहेको बताएका छन्। "म राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेको छैन। हिजोको कार्यक्रम हेर्न गएको हुँ। रवि, बालेन र कुलमानलाई भेट्न गएको हुँ," उनले भने, "साथीहरूले फोटो खिच्दा मञ्चमै उभिन लगाए, त्यसैले फोटो आएको हो।"
सांसद चौधरीले कुलमानसँग पुल निर्माणको योजनाको विषयमा कुरा गर्न गएको बताएका छन्।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने पुल निर्माणको योजना बारे कुरा गर्न गएको र पार्टी प्रवेश गरेका थारू नेताहरूसँग फोटो मात्रै खिचेको उनले बताएका छन्। चौधरीले आफू बिरामी रहेको र आगामी निर्वाचन लड्ने कुनै सोच पनि नभएकाले पार्टी प्रवेश गर्ने विषय आफ्नो प्राथमिकतामा नरहेको बताएका छन्।

कमेन्ट लोड गर्नुस