सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सर्पदंश उपचार केन्द नहुँदा सर्पले डसेका विरामी बचाउन मुस्किल

२०७६ साउन २७, १२:४१

सुदूरपश्चिममा सर्पदंश उपचार केन्द्र नहुँदा सर्पको टोकाईबाट वर्षेनी धेरैले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ। प्रदेशमा रहेको स्वास्थ्य संस्थाहरुमा सर्पले डसेका सर्पदंशका विरामीको उपचार नहुँदा धेरैले अकालमै ज्यान गुमाउनु परेको हो। सर्पले डसेपछि उपचारमा आवश्यक पर्ने एन्टी स्नेक भेनम सरकारी स्वास्थ्य सस्थालाई दिएपनि छुट्टै उपचार केन्द्रको अभाव हुँदा समस्या भएको हो।

प्रदेशमा गत वर्ष सर्पको टोकाईबाट ४३ जनाले अकालमै ज्यान गुमाईसकेका छन् भने यो वर्ष पनि  ६ जनाको मृत्यु भईसकेको छ। तर प्रदेशमा सर्पदंशको उपचारका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनम भएका अस्पतालमा समेत आईसियु सेवा नभएकै कारण समस्या हुँदै आएको छ। सर्पले टोकेको व्यक्तिलाई एन्टी स्नेक भेनम लगाउँदा अनिवार्य आईसियु आवश्यक पर्ने भएपनि प्रदेशका अस्पतालहरुमा आईसियु सेवा नहुँदा समस्या हुदै आएको छ।

जिल्ला अस्पताल डोटीका प्रमुख डाक्टर भुषण मिश्रले एन्टी स्नेक भेनम उपलब्ध भएपनि आईसियु अभावमा सर्पदंशका विरामीको उपचार कठिन भएको सुनाए। उनले हाल सम्म अस्पताल पु¥याईएका सर्पदंशका विरामीको ज्यान गएको उदाहरण भने नरहेको उल्लेख गरे।

क्षेत्रिय मेडिकल स्टोरका अनुसार सेती अञ्चल अस्पताल, महाकाली  अञ्चल अस्पताल, टीकापुर अस्पताल, डडेल्धुरा अस्पताल सहित अन्य जिल्ला अस्पताललाई पनि निःशुल्क उपलब्ध हुने एन्टी स्नेक भेनम वितरण गरिदै आएको छ। ती मध्ये सेती अस्पतालमा मात्र चार वेडको आईसियुर सेवा उपलब्ध छ तर प्रदेशका नौ वटै जिल्लाबाट गम्भीर प्रकृतिका विरामी सेतीमै आउने गरेका कारण प्रायजसो आईसियु खाली  नहुने गरेको अस्पतालले बताउँदै आएको छ।

कतिपय अवस्थामा आईसियुमा राख्नु्पर्ने गम्भीर प्रकृतिका विरामी अन्यत्र समेत रेफर गरिदै आएको छ। तैपनि तराईमा केही सहज हुने गरेपनि पहाडी जिल्लामा भने भौगोलिक विकटता, आईसियु सेवाको अभाव लगायतका कारण सर्पदंशको उपचार नपाई अकालमै ज्याउन गुमाउनुपर्ने बाध्यता रहेको छ।

सर्पले डसेपछि पक्षघाट हुने प्रवल सम्भावना हुने हुँदा सघन उपचार कक्ष आईसियु अनिवार्य चाँहिने चिकित्सकले बताउँदै आएका छन्। सेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डे सर्पदंशका विरामीलाई विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सिद्धान्त अनुसार औषधी दिने गरिएको बताए। तर बढि विषालु सर्पले टोकेका विरामीको हकमा लामो समय सम्म अस्पताल राख्नुपर्ने स्थिती आउँने हुँदा सबै अस्पतालमा आवश्यक पूर्वाधारको उचित प्रवन्ध हुन जरुरी रहेको पाण्डेले जनाए।

सुदूरपश्चिमका कुनै पनि सरकारी अस्पतालमा अहिले सम्म छुट्टै सर्पदंश उपचार केन्द्र स्थापना हुन सकेको छैन्। तर नेपाली सेनाको सुदूरपश्चिम पृतना माहतहतको कैलालीको बडैपुरमा रहेको कालीरक्षा गण र श्री नं २५ वाहिनी अन्तरगत कञ्चनपुरको अर्जुनीमा रहेको देवीदल गणले सर्पदंश उपचार केन्द्र खोलेको छ।

कैलालीको कालीरक्षा गणमा मात्र सर्पदंश उपचार केन्द्र स्थापना भएदेखि हालसम्म ५४५ जनाको उपचार गरिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि सर्पदंशको समस्यालाई गम्भीर रुपमा नलिएको आरोप लागेको छ। धनगढीमा आईसियु र भेन्टीलेटर सेवा भएका नीजि अस्पतालमा वर्षातको बेला सर्पदंशका विरामी पुग्ने गरेपनि निःशुल्क पाईने एन्टी स्नेक भेनम वितरण गर्न नपाउँदा समस्या हुदै आएको छ।

धनगढीको निसर्ग अस्पतालका सञ्चालक कुवेर शाहीले वर्षातको समयमा प्रायजसो दैनिक नै सर्पदंशका केसहरु आउँने गरेपनि एन्टी स्नेक भेनम लगाउन नमिल्ने हुँदा समस्या हुदै आएको बताए। उनले नीजि अस्पतालमा आईसियु र भेन्टिलेटरको सुविधा भएका कारण विरामी पुग्ने गरेपनि सरकारले निःशुल्क दिने औषधी वितरण गर्न नपाउने प्रावधानका कारण समस्या भएको सुनाए तर केही समय पहिले भने सेती अस्पतालले एन्टी स्नेक भेनम उपलब्ध गराएको शाहीले बताए।

सेती अस्पतालले पनि केही जटिल प्रकृतिका एक दुई वटा केसमा एन्टी स्नेक भेनम उपलब्ध गराएको भएपनि नीजि अस्पताललाई दिन नमिल्ने जनाएको छ। क्षेत्रिय मेडिकल स्टोरले समेत स्वास्थ्य विभागको निर्देशन अनुसार नै सर्पदंशको उपचारका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनम सरकारी अस्पतालाई मात्र दिने गरिएको जनाएको छ। क्षेत्रिय मेडिकल स्टोर धनगढीका प्रमुख नारद प्रसाद साहनीले नीजि अस्पताललाई एन्टी स्नेक भेनम वितरण गर्न नमिल्ने बताएका छन्।

यता प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भने सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको एन्टी स्नेक भेनम निजी अस्पताल मार्फत सर्पशदंका विरामीलाई लगाउने नमिल्ने कुरा पूर्ण रुपमा बन्देज नभएपनि जटिल प्रकृतिको उपचार सेवा भएकाले नदिईएको बताए। वर्षातको समयमा तराई क्षेत्रमा गोमन र करेत जस्ता अति विषालु सर्पको बिगबिगी हुने गरेको छ भने पहाडी भेगमा हरेउ र गुर्वे लगायतका विषालु सर्पले डस्ने गरेको छ । तर सर्पदंशको उपचार सेवा नहुँदा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ।  

कमेन्ट लोड गर्नुस