सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुर्चौंडी को गलिनाथ माविमा नमूना पुस्तकालय स्थापना हुँदै

२०८२ पुष २१, १२:३३ खबर संवाददाता

बैतडी: बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित गलिनाथ माध्यमिक विद्यालय, बडगाउँमा नमूना पुस्तकालय स्थापना गर्ने कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।

दुर्गम क्षेत्रमा पठन संस्कृतिको विकास गर्नुका साथै विभिन्न विधाका पुस्तकहरू विद्यार्थी तथा समुदायका लागि सहज रूपमा उपलब्ध गराउने उद्देश्यले विद्यालयमा पुस्तकालय स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश नागरीले जानकारी दिए।

उनका अनुसार गएको असोज ६ गतेदेखि पुस्तकालयको औपचारिक सुरुवात गरिएको हो र हालसम्म करिब साढे चार हजार पुस्तक संकलन भइसकेका छन्। पुस्तकालयका लागि विभिन्न क्षेत्रका व्यक्तित्व तथा पुर्चौंडी घर भई देशका विभिन्न क्षेत्रमा क्रियाशील ८० जनाभन्दा बढी व्यक्तिहरूले पुस्तक सहयोग गरेका छन्।

पुस्तकालयमा धार्मिक, शैक्षिक, संविधान, ऐन–कानुन लगायत विविध विषयसँग सम्बन्धित पुस्तकहरू राखिएको प्रधानाध्यापक नागरीले बताए। पुस्तकालयमा १० हजार पुस्तक पु¥याउने लक्ष्यसहित अभियान अघि बढाइएको छ।

पाठकहरूले पुस्तकालयबाट पढ्नका लागि फिर्ता गर्ने सर्तमा पुस्तक लैजान सक्नेछन् भने पुस्तकालयमै बसेर अध्ययन गर्ने व्यवस्था पनि मिलाइएको छ।

आइतबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति जंगबहादुर कुँवरले पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेका छन्।

शिक्षा क्षेत्रको पहुँच विस्तार गर्ने लक्ष्यसहित नमूना पुस्तकालय स्थापना गरिएको उल्लेख गर्दै प्रधानाध्यापक नागरीले दुर्गम क्षेत्रमा पठन संस्कृतिको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन्।
 

कमेन्ट लोड गर्नुस