सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिजुली सेवाको गुणस्तर सुधारमा प्राधिकरण केन्द्रित : निर्द्रेशक शाक्य

२०८२ पुष २१, १२:२१ खबर संवाददाता

धनगढीः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको ध्यान गुणस्तरीय बिजुलीमा केन्द्रित रहेको बताएका छन्। ‘प्रादेशिक कार्यालयका उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने अभियान’ का लागि कर्णाली र सुदूरपश्चिम प्रदेश पुग्नु भएका उनले त्यहाँका विभिन्न वितरण केन्द्र र सब–स्टेशनको निरीक्षण गर्ने क्रममा यस्तो बताएका हुन्। 

कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा आयोजित दुबै कार्यक्रममा सहभागी हुने क्रममा शाक्यले प्राधिकरणको ध्यान अब गुणस्तरीय बिजुली सेवामा केन्द्रित हुने बताए। ‘पहिले दिनमा लोडसेडिङ थियो, त्यतिबेला जसरी पनि बिजुली पुर्याउनुपर्छ भन्ने थियो। अब बिजुली पुर्याएर मात्रै हुँदैन’ उनले धनगढीको कार्यक्रममा भने, ‘बिजुलीको गुणस्तर राम्रो हुनुपर्छ। गुणस्तर भनेको झ्याप्पझ्याप्प बिजुली जानु भएन। बिजुली भरपर्दो हुनुपर्छ।’ 

उनले उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने कार्यक्रममा सबैभन्दा बढी विद्युत खपत गरेर प्राधिकरणको आम्दानीमा मात्र टेवा पुर्याउने होइन, विद्युतको उपयोग मार्फत राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिनुपर्छ भने। 

उनले गुणस्तीय बिजुली सबै उपभोक्ताको आवश्यकता भएको बताए। उनले भने, ‘त्यसैले उद्योगीहरुका लागि विद्युतको निरन्तरता अत्यावश्यक छ। त्यसका लागि विद्युतको भोल्टेज गुणस्तरीय हुनुपर्छ।’ उनले सबै वितरण केन्द्रका प्रमुखसँग बसेर कुराकानी गरेको भन्दै  सुदूरपश्चिमको क्षेत्रको विद्युतलाई विश्वसनीय र राम्रो अथवा गुणस्तरीय बनाउन अत्तरिया–धनगढी प्रसारण लाइन निर्माणको लाइसेन्स लिएर अघि बढेको जानकारी दिए।

उनले कर्णाली र सुदूरपश्चिमको निरीक्षण भ्रमणका क्रममा कोलपुर, सुर्खेत, दैलेख १३२ केभी प्रसारण लाइन आयोजनासँगै कर्णाली प्रदेशको वितरण तथा ग्राहक सेवा निर्देशनालयको निरीक्षण भ्रमण गरे। उनले त्यहाँ हिमाली र पहाडी जिल्लामा देखिएका समस्या र समाधानको उपायसहित तालिका बनाएर अघि बढ्न निर्देशन दिए। 

काठमाडौंबाट प्राधिकरणका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठलाई साथमै लिएर कर्णाली पुगेका निर्देशक शाक्यले त्यहाँ प्राधिकरणका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शशिभूषण साहसहित निरीक्षण गरेका थिए। सुदूरपश्चिममा शाक्लेले कैलालीको लम्कीचुहामा रहेको प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालय कंक्रिट पोल प्लान्ट, अत्तरियाको सब–स्टेशन, सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढी वितरण केन्द्रलगायतको भ्रमण गरे। 

शाक्यले आफ्ना उत्कृष्ट ग्रहकलाई सम्मान गर्ने, विश्वसनीय विद्युत आपूर्तिका लागि सरोकारवाला निकायका गुनासा–समस्या सुन्ने, प्राविधिक समस्याहरुको जानकारी लिने बताए। समस्याको पहिचान गर्ने अभियान कोसी प्रदेशबाट सुरुवात गरेको भन्दै मधेस प्रदेश, गण्डकी, कर्णाली प्रदेश हुँदै सुदूरपश्चिममा पनि सम्पन्न गरेको र अब छिट्टै लुम्बिनी र बागमतीमा गर्ने जानकारी उनले दिए।

कमेन्ट लोड गर्नुस