दिल्ली जानुअघि प्रचण्डले भेटे एमाले अध्यक्ष ओली
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भेटवार्ता भएको छ।
एमाले केन्द्रीय कार्यालय च्यासल नजिक आज उनीहरूबीच भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार भेटमा उनीहहरूबीच निर्वाचनका विषयमा छलफल भएको हो। साथै उनीहरूले फागुन २१ गते तय भएको चुनावका लागि उचित वातावरण नबनेको विषयमा समीक्षा गरेका थिए।
उनीहरूबीच राष्ट्रियसभा निर्वाचन र आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रमुख दलहरूबीचको चुनावी तालमेलबारे पनि छलफल भएको हो। यसअघि हिजो शनिबार नै भेट गर्ने तयारी भए पनि प्रचण्ड तुम्लिङटारबाट ढिला फर्किएका कारण भेट हुन सकेको थिएन।
आज साँझ प्रचण्ड नयाँदिल्ली जाने कार्यक्रम छ। त्यसअघि नै प्रचण्डले ओलीलाई भेटेका हुन्।