सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णपुुरमा अवैध रुख कटान प्रकरण : सोधपुछ सकिँदा पनि खुलेन पहिचान

२०८२ पुष २०, ११:५८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वनक्षेत्रबाट अवैध रूपमा काटिएका रुखबारे छानबिन गर्न बनेको समितिले सोधपुछको काम सकाएको छ।

गत मङ्सिर ११ गते दिउँसोको समयमा अवैध रूपमा १६४ रुख कटान गरेर गायब पारिएको थियो। अवैध रूपमा कटान गरेर रुख गायब पारिएपछि सबडिभिजन वन कार्यालय वाणीका प्रमुख भरत साहको संयोजकत्वमा गठन भएको छानबिन समितिले वडा नम्बर ७ का वडाध्यक्षसहित गौरीघाट सामुदायिक वनका पदाधिकारीसँग सोधपुछ गरेको छ। छानबिन समितिका संयोजक साहले अवैध रूपमा रुख कटान गरिएपछि यहाँको वडा नम्बर ७ का वडाध्यक्ष घुम्मन राना तथा गौरीघाट सामुदायिक वनका अध्यक्ष कुमारी बोहोरासहित आठ जना पदाधिकारीसँग सोधपुछ गरिएको बताए।

सोधपुछका क्रममा सामुदायिक वनका पदाधिकारीले ती रुख कसको आदेशमा कसले काटेको भन्ने थाहा नभएको बयान दिएको साहले बताए। यसै गरी सामुदायिक वनमै रहेको वडा कार्यालयका वडाध्यक्ष रानाले कसको आदेशमा रुख कटान गरिएको भन्ने जानकारी नपाएको प्रतिक्रिया दिएको उनले बताए। एकै पटक रुख कटान गरिएपछि छानबिन समितिले सो सामुदायिक वनक्षेत्रमा १६४ रुखका ठुटा फेला परेका थिए।

जसमध्ये वनक्षेत्रबाट १०१।५५ क्युफिट खयर र ८६।०१ क्युफिट सिसौको काठ जङ्गलमै काटेर छाडिएको अवस्थामा फेला परेपछि सङ्कलन गरी घाटगद्दी गरिएको थियो। बाँकी काठ भने गायब पारिएको छानबिन समितिका संयोजक साहले बताए । गायब पारिएको काठको खोजीका लागि वडा नम्बर ७ स्थित कार्की टोलका झन्डै एक सयभन्दा बढी स्थानीयका घर घरमा खानतलासी गरिएको उनले बताए तर ती काठ भने फेला पार्न सकिएको छैन्।

अवैध रूपमा रुख कटानबारे वडाध्यक्ष, वनका पदाधिकारी तथा स्थानीयसँग गरिएको सोधपुछका क्रममा अवैध रूपमा रुख कटान गर्नेको पहिचान भने खुल्न सकेको छैन। छानबिन समितिका संयोजक साहले यस क्षेत्रका स्थानीयसँग सोधपुछ गरिए पनि अवैध रूपमा रुख कटान गर्न लगाउने र कटान गर्नेको पहिचान भने खुल्न नसकेको उनले बताए।

कमेन्ट लोड गर्नुस