बैतडीमा प्रतिनिधिसभा निर्वाचनका लागि पाँच मतदान केन्द्र थप
दशरथचन्द: बैतडी जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँचवटा नयाँ मतदान केन्द्र थपिएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सिगास गाउँपालिका–४ स्थित वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका–७ को केदारशीला आधारभूत विद्यालय सुर्काल, दशरथचन्द नगरपालिका–९ को केदार आधारभूत विद्यालय सीम लोडासौँ, शिवनाथ गाउँपालिका–३ को श्रीपूर आधारभूत विद्यालय बछला तथा पाटन नगरपालिका–५ को त्रिपुरेश्वर माध्यमिक विद्यालय कुलडामा नयाँ मतदान केन्द्र स्थापना गरिएको हो।
यसैबीच, मेलौली नगरपालिका–२ स्थित कोटेश्वर आधारभूत विद्यालयमा रहेका दुई मतदान केन्द्रमध्ये एउटा केन्द्र हटाइएको निर्वाचन कार्यालयले जनाएको छ।
गत निर्वाचनमा २१० मतदान केन्द्र रहेका बैतडीमा यसपटक २१४ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो। मतदानस्थल भने अघिल्लोजस्तै १२९ नै कायम रहने उनले बताए।
जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीका अनुसार जिल्ला सदरमुकाममा एक अस्थायी मतदान केन्द्र रहनेछ। हाल अस्थायी मतदाताको विवरण सङ्कलन कार्य भइरहेको उनले जानकारी दिए। स्थानीय, प्रदेश तथा सङ्घ अन्तर्गतका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, कारागारमा रहेका तथा वृद्धाश्रममा बसोबास गर्ने मतदाताको विवरण संकलन भइरहेको छ।
आगामी निर्वाचनका लागि बैतडी जिल्लामा कुल १ लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन्। यस वर्ष ६ हजार २१६ मतदाता थपिएका छन् भने अघिल्लो निर्वाचनमा १ लाख ५० हजार १५६ मतदाता रहेका थिए।