सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पहिलो पटक टीकापुर नगरपालिकाबाट स्थायी लेखा नम्बर सेवा सुरु

२०८२ पुष १८, ११:४८ खबर संवाददाता

टीकापुरः आन्तरिक राजस्व कार्यालयले दिने सेवा बिहीबारदेखि स्थानीय तहबाट सुरु भएको छ । बिहीबार टीकापुर नगरपालिकाबाट स्थायी लेखा नम्बर जारी गरी सेवा सुरु गरिएको हो । यसअघि आन्तरिक राजस्व कार्यालय करदाता सेवा कार्यालय लम्कीले दिइरहेको सेवा अब टीकापुर नगरपालिकाको आन्तरिक राजस्व शाखाबाट दिइने छ । 
स्थायी लेखा नम्बर जारी गर्ने टीकापुर नगरपालिका सुदूरपश्चिममा पहिलो पालिका भएको छ । पहिले धनगढी पुगेर गर्ने काम करदाता सेवा कार्यालय लम्कीसम्म आएको र त्यो सेवा अब स्थानीय तहमा आउँदा नागरिकलाई धेरै सजिलो भएको स्थानीय व्यापारी नारायण न्यौपानेले बताए। 

सेवाको सुरुवात गर्दै टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले लम्कीमा पुगेर घन्टौँ लाइन लाग्नुपर्ने अवस्था अन्त्य भएको र यहाँका व्यवसायी, संस्था र व्यक्तिलाई सहज हुने बताए। मङ्सिर २८ देखि एक हप्ताको तालिम दिएर व्यक्तिगत र व्यावसायिक स्थायी लेखा नम्बर जारी गर्न र संशोधन गर्न सिकाइएको र त्यही अनुसार पहिलो दिन दुई वटा स्थायी लेखा नम्बर जारी गरेको नगरपालिकाको राजस्व शाखाकी  कर्मचारी वृन्दा उपाध्यायले बताईन। 

आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख अधिकृत भीमप्रसाद काफ्लेले अब सेवाग्राहीले नजिक सेवा पाउने तथा स्थानीय तह र सङ्घीय सरकारको राजस्व पनि बढ्ने गरी प्रशासनिक र वित्तीय सङ्घीयता कार्यान्वयन भएको उल्लेख गरे। 

प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले नागरिकलाई सेवा पुग्ने भएकाले भएको स्रोतसाधनको उच्च प्रयोग गर्दै स्थानीय तहले सेवा दिन लागेको बताए । करदाता सेवा कार्यालय खारेज गरी सो काम स्थानीय तहबाटै गर्ने नेपाल सरकारको २०८२ कात्तिक १७ गतेको निर्णय अनुसार आन्तरिक राजस्वको काम स्थानीय तहबाट सुरु गरिएको हो ।    
 

कमेन्ट लोड गर्नुस