सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको विज्डम एकेडेमीमा तलब बृद्धिको माग गर्दा चार जना शिक्षक निकालिए

२०७६ साउन २६, ०१:२९ जनक विष्ट

तलब बृद्धि र पेशागत सुरक्षाको माग गर्दा कञ्चनपुरको संस्थापक विद्यालय विज्डम एकेडेमीले चार जना शिक्षकलाई निकालेको आरोप लागेको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ मा पर्ने विज्डम एकेडेमीले पेशागत सुरक्षा सहित तलब बृद्धिको माग गर्दा विद्यालयमा कार्यरत चारजना शिक्षकलाई निकालेको आरोप लागेको हो।

विद्यालयमा कार्यरत लगानीकर्ता शिक्षकको तलब २६ हजार भएका बेला गैर लगानीकर्ता शिक्षकको त्यसको आधा १३ हजार मात्रै भएको भन्दै बृद्धि गर्न माग गर्दा उनीहरुलाई जागिरबाट निकालिएको लगानीकर्ता मध्येका एकजना शिक्षक लक्ष्मण दियालले बताए।

विद्यालयको लगानीकर्ता शिक्षक र अन्य शिक्षकबिच रहेको तलबको ठुलो अन्तरलाई हटाउन माग गर्दा निमावी तहमा कार्यरत  कुमार सिह नगारी, प्रशान्त रावल र प्रावी तहमा कार्यरत जितेश रावल, कल्पना सावदलाई विद्यालयबाट  निकालिएको दियालले बताए।

तलब बृद्धि र पेशागत सुरक्षा गर्नुपर्ने  माग गर्दै शिक्षकलाई विद्यालयबाट निकालिनु दमन र श्रम शोषण भएको उनको भनाई छ। पेशागत सुरक्षा र हक हितका विषयमा बोलेकै कारण आफूहरुलाई विद्यालयले हाजिर लगाउन नदिएको शिक्षक कल्पना सावदले बताईन्।

उनले पेशागत सुरक्षा सहितका विभिन्न माग गर्दै गत साउन १९ मा प्रधानाध्यापकलाई बुझाईएको निवेदनमा हस्ताक्षर गरेपछि विरोधमा उत्रिने भन्दै हाजिर समेत लगाउन नदिएको गुनासो गरिन्। अर्का शिक्षक कुमार सिह नगारीले लगानीकर्ता शिक्षक र आफूले बराबर पिरियड पढाएपनि तलब सुविधा दोब्बरले बढि रहेको बताए।

सोही विषयलाई लिएर तलब बृद्धिको माग गर्दा विद्यालयले आफूलाई काम  अनावश्यक तनाव दिएर काम गर्न नदिएको गुनासो गरे। उनले विद्यालयका प्रधानाध्यपकले परिवारका सदस्यलाई टेलिफोन गर्दै अनावश्यक तनाव दिन थालेपछि विद्यालय जान छोडेको जनाए। यता विज्डम एकेडेमीका सञ्चालक एव्म प्रधानाध्यापक गोविन्द सिह थापाले उनीहरुलाई विद्यालयबाट ननिकालिएको दावी गरेका छन्।

उनले चारै जना शिक्षकले राजीखुसीमा राजीनामा दिएको जिकिर गरे। तर लगानीकर्ता शिक्षक र अन्य शिक्षकको तलब सुविधामा अन्तर हुनु स्वभाविक भएको थापाको भनाई रहेको छ। उनले विद्यालयको लगानी डुबेमा लगानीकर्ता नै जिम्मेवार हुने एव्म अन्य शिक्षकको तुलनामा लगानीकर्ता बढि खटिने भएकाले तलब अन्तर बढि भएको दावी गरे। 
 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस