शिक्षासँगै सीप: धनगढीका विद्यालयमा व्यवहारिक तालिम प्रभावकारी बन्दै
धनगढी: धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको शिक्षामा सीप कार्यक्रम प्रभावकारी बन्दै गएको छ । धनगढी उपमहानगरपालिका क्षेत्रभित्र रहेका विद्यालयमा सो कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
शिक्षामा सीप कार्यक्रम अन्तर्गत गत बर्ष धनगढी–११ स्थित ठेकराज माविका २० जना विधार्थीलाई मर्मत र ईलेक्ट्रोनिक तालिम दिएको थियो । तालिम प्राप्त विद्यार्थीहरु अहिले पढ्दै छन् । उनीहरुले सिकेको सीपले उच्च शिक्षामा सहयोग पुग्न सक्ने ठेकराज माविका शिक्षक बिजय रानाले बताए ।
सीप सिकेका विद्यार्थीहरुले बिदाको दिन घरमा बिग्रेका मावाईल मर्मत गर्ने काम गरिरहेको उनले बताए । तालिम लिन आउने विद्यार्थीहरु धेरै उत्साहित हुने गरेको कार्यक्रम संयोजक तर्कराज पन्तले बताए। चालु आर्थिक वर्षमा धनगढी–१४ स्थित सिद्धनाथ माध्यमिक विद्यालय र धनगढी– ९ स्थित भवानी माध्यमिक विद्यालयमा कार्यक्रम लागू भएको उनले बताए । यो कार्यक्रम लागू भएपछि सीप सिक्न चाहने विधार्थीहरुको आर्कषण बढिरहेको छ।
प्रत्येक शुक्रबार ५ देखि ६ घण्टासम्म उनीहरुलाई ईलेक्ट्रोनिक सम्बन्धी र मोवाईल मर्मत गर्ने काम सिकाइने गरिएको उनले बताए । उनले भने ‘विद्यार्थीहरु शनिबारको दिन पनि आउन आग्रह गर्छन् । फुर्सद छ भने गएर सीकाईदिने गरेको छु ।’
एकदमै उत्सुकता साथ विद्यार्थीहरु सहभागी हुने गरेको उनले बताए । अहिले दुई वटै विद्यालयका करिव ४० जना विधार्थीहरु तालिममा भाग लिएर सिक्न आइरहेको उनले बताए । धनगढी–९ भवानी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा मनिषा खातीले कार्यक्रमले आफ्नो सानैदेखिको चाहना पूरा गरेको बताइन् ।
उनले भनिन् ‘हामी जस्ता विद्यार्थीका लागि यो कार्यक्रम निकै प्रभावकारी बनेको छ । ‘एकदमै राम्रो छ । यो कार्यक्रम संचालन जारी राख्न म धनगढी उपमहानगरपालिकालाई अनुरोध गर्दछु ।’ यदि ११ र १२ कक्षामा अध्ययन गर्दा आर्थिक अभाव भयो भने सीकेको सीपलाई सदुपयोग गर्दै सहयोग पुग्ने उनले बताइन् ।
त्यस्तै कक्षा ९ मा अध्ययनरत छात्रा विद्या रानाले यो कार्यक्रममा भाग लिन पाउदा आफू निकै भाग्यमानी भएको बताइन् । उनले भनिन् ‘हामीले सिकेको यो सीप जता पनि काम लाग्छ । समस्या हुँदा आफै काम गरेर आत्मनिर्भर हुन सक्छौँ । मलाई निकै आशा पलाएको छ । यो सीप भविष्यमा काम लाग्छ ।’