सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा डोटीले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

२०८२ पुष १३, ०३:१४ खबर संवाददाता

डोटीः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डोटीले आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।

शुक्रबार साबिक माओवादी केन्द्र डोटी जिल्ला इन्चार्ज त्रिलोचन भट्टको अध्यक्षतामा सम्पन्न पार्टी बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तथा माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।

राष्ट्रियसभा निर्वाचनका लागि भरत बहादुर बोहरा (योगेन्द्र) लाई डोटीबाट सर्वसम्मत रूपमा एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। दस वर्षे सशस्त्र जनयुद्धका क्रममा कुशल कमान्डरको भूमिका निर्वाह गरेका बोहरा पार्टीभित्र इमान्दार, कर्तव्यनिष्ठ, स्वच्छ छवि भएका र कुशल संगठक युवा नेताका रूपमा परिचित छन्। ३२ वर्ष लामो सक्रिय राजनीतिक जीवन बिताएका बोहरा हालसम्म कुनै लाभको पदमा नरहे पनि पार्टीका कार्यकारी जिम्मेवारीहरू निरन्तर बहन गर्दै आएका छन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टीको समयमा बोहरा प्रदेश कमिटी सदस्य रहनुका साथै हाल पार्टीको प्रदेश सचिवालय सदस्य छन्। यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा आदर्श गाउँपालिकाको अध्यक्ष पदमा झिनो मतले पराजित भएका बोहरा प्रदेशसभा क्षेत्र नं. १ बाट पटक–पटक सिफारिस हुँदै आएका थिए। यसपटक भने उनी राष्ट्रियसभा निर्वाचनका लागि डोटीबाट एकल सिफारिसमा परेका छन्। पार्टीले सर्वसम्मत रूपमा सिफारिस गरेपछि कार्यकर्ताहरूले बोहरालाई उचित मूल्याङ्कन गर्दै न्याय गरिएको प्रतिक्रिया दिएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टसहित हर्क बहादुर सिंह, जङ्ग विक, अञ्जिता श्रेष्ठ, सिद्धाराज विक, वीर बहादुर थापा, धन बहादुर विष्ट र प्रकाश जोशीलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। पार्टीका अनुसार यसमा खस आर्य तर्फ पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट र संविधानसभा सदस्य हर्क बहादुर सिंह, दलित तर्फ जङ्ग विक र सिद्धाराज विक, महिला÷जनजाति तर्फ अञ्जिता श्रेष्ठ, युवा तर्फ धन बहादुर विष्ट तथा नवयुवा तर्फ वीर बहादुर थापा र प्रकाश जोशीलाई समावेश गरिएको छ। नवयुवा तर्फका थापा अखिल (क्रान्तिकारी) सुदूरपश्चिमका अध्यक्ष हुन् भने जोशी वाइसीएल डोटीका इन्चार्ज हुन्।

समानुपातिकतर्फ गोरख बहादुर सार्की, कृष्ण दर्लामी, पूर्णा जोशी, श्रीचन्द्र श्रेष्ठ, सिता रायमाझी, दिल बहादुर कठायत, डम्बर घर्ती, नन्दलाल विक, डबल ताम्राकार र लक्ष्मण नाथ योगीलाई सिफारिस गरिएको छ। नेकपा डोटीले उम्मेदवार सिफारिस गर्दा समावेशिता, अनुभव र संगठनप्रतिको योगदानलाई आधार मानेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस