६० प्रतिशत बढ्यो अलैँची निर्यात
झापा: चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ। मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार यो अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ।
पाँच महिनाको अवधिमा दुई हजार ६ सय २२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिए। अघिल्लो आव २०८१/८२ को सोही अवधीमा तीन अर्ब ४५ करोड ६३ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको उनले बताए। कार्यालयको तथ्याङ्अनुसार चालु आवको पाँच महिनामा चियाको निर्यात ३१ दशमलव ४० प्रतिशतले घटेको छ । यो अवधिमा एक अर्ब ८५ करोड ६२ लाख सात हजार रुपैयाँ मूल्य बराबरको चिया निर्यात भएको छ। अघिल्लो आव २०८१–८२ को सोही अवधिमा दुई अर्ब ७० करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईले जानकारी दिए।
कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनीयर सिट १२९ दशमलव ९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, अदुवा, सुठो ४८ दशमलव ७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ। यसैगरी प्लाउड ४६ प्रतिशत, अम्रिसो ३५ दशमलव ५० प्रतिशत र फलामे पाता निर्यातमा ९७ दशमलव ८० प्रतिशतले कमी आएको छ। मेची भन्साबाट चालु आव २०८२–८३ को पहिलो पाँच महिनामा १० अर्ब ७१ करोड ५४ लाख १३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ।