घोडाघोडी क्याम्पसको अध्यक्षमा तीनदलीय गठबन्धनका उम्मेदवार न्युरे विजयी
घोडाघोडीः कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्षमा लक्ष्मण न्यूरे बिजयी भएका छन्। बिहीबार क्याम्पसमा भएको निर्वाचनमा स्वतन्त्र उमेदवार डबलबहादुर शाहलाई ८९ मतले पछाडी पार्दै सबै राजनीतिक दलको साझा उमेदवार न्यूरे बिजयी भएका हुन्।
न्यूरेले २ सय ७७ मत प्राप्त गरे भने प्रतिस्पर्धी स्वतन्त्र उमेदवार शाहले १८८ मत प्राप्त गरे। न्यूरे नेपाली कम्प्युनिष्ट पार्टी निकट हुन्। त्यसैगरी उपाध्यक्ष र महिला सदस्यमा न्यूरे प्यानलका उमेदवार आयुष जोशी र राधाकुमारी पाण्डे विनाडी विजयी भएका छन्। जोशी नेपाली कांग्रेस निकट हुन् भने बिनाडी नेपाली कम्प्युनिष्ट पार्टी निकट हुन्।
क्याम्पसको लेखा परीक्षण टोलीको संयोजकमा स्वतन्त्र उमेदवार भोजराज जोशी बिजयी भएका छन्। न्युरे प्यानलका हेमन्त शाहीलाई ६ मतले पछाडी पार्दै जोशी बिजयी भएका हुन्। दलित, जनजाती, र खुल्ला सदस्य र लेखा समिति सदस्यमा सर्वसम्मत भए पनि अन्य पदका लागि निर्वाचन भएको हो ।
क्याम्पसमा विशिष्ट, आजिवन र साधरण ५ सय ८१ सदस्य मतदाता रहेकोमा ४७२ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक शिवप्रसाद ढकालले बताए। खसेका मतमा चार मत बदर भएका थिए। त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त भई २०६२ सालदेखि सञ्चालनमा आएको उक्त क्याम्पसमा सञ्चालक समितिको कार्यकाल तीन बर्षको रहने गरेको छ ।