सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरवारविहीन महरालाई दुई लाख २५ हजार आर्थिक सहयोग हस्तान्तरण

२०८२ पुष ९, ०७:२२ खबर संवाददाता

बैतडीः घरवारविहीन बैतडीको सुर्नया गाउँपालिका–४ कौलाडीकी २६ वर्षीया जानकी महरालाई दुई लाख २५ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

विभिन्न व्यक्तिहरूबाट सङ्कलित उक्त रकमलाई मंगलवार हस्तान्तरण गरिएको सहयोग सङ्कलनका अभियान्ता तथा पत्रकार सुरेश महराले जानकारी दिए। जानकीका श्रीमान् नरेश महराको गत मङ्सिर १८ गते मिनिट्रक दुर्घटनामा परी निधन भएको थियो। श्रीमानको निधनपश्चात् घरसमेत नरहेकी जानकीले किरियासमेत छिमेकीको घरमा बसेकी थिइन्।

नरेशले यसअघि नै घरजग्गा सबै बेचेका थिए। घरजग्गा सबै बेच्नुका साथै रातदिन कुटपिट गर्ने नरेशको पीडा सहन नसकेर जानकी पाटनस्थित सुरक्षित आवासगृहमा बस्दै आएकी थिइन्। लगत्तै श्रीमानको मृत्युपश्चात् जानकी र बालबच्चा बिचल्ली भएपछि आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो। अभियानबाट सङ्कलित रकम हस्तान्तरण गरिएको हो।

जानकीको बैंक खातासमेत नहुँदा महराले नै सहयोग सङ्कलन अभियान चलाएका थिए। सहयोग गर्ने सबै दाताहरूलाई धन्यवादसमेत ज्ञापन गरिएको छ। यसैबीच पीडित जानकी महराको काठमाडौँस्थित किरण नमस्ते नेपाल संस्था र ग्रेस एकडेमी स्कुलमा बालबालिकाको पठनपाठनको व्यवस्था गरेको छ।

जानकी बालबच्चासहित काठमाडौँ जाने तयारीमा छिन्। जानकीका दुई छोरी एक छोरा छन्। यस्तै जानकीले आफ्नै खाता समेत खालेकी छिन्। सहयोग गर्न चाहनेले जानकी महराको बैतडीस्थित ग्लोबल आईएमई बैंकको खाता नम्बर ३८७०७०१००१४८१८ जम्मा गर्नसक्नुहुनेछ। 

कमेन्ट लोड गर्नुस