सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुधको मुल्य बढाउन किसानको माग

। फोटो स्रोत ।
२०७६ साउन २५, ०२:५३ खबर संवाददाता

किसानले दूधको मूल्य प्रतिलिटर कम्तीमा १० रुपैयाँ बढाउन माग गरेका छन। चितवनका दुग्ध उत्पादक सहकारी संस्थाहरूले बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरी माग पूरा गराउन सरकारलाई साताको समय दिएका छन। संघले दुग्ध उत्पादक सहकारीलाई लगाइएको कर हटाउन र डेरी उद्योग र चिस्यान केन्द्रमा लाग्ने विद्युत् महसुलमा छुटको मागसमेत गरेका छन।

हाल चार फ्याट र आठ एसएनएफ कायम रहेको दूधको मूल्य किसानलाई प्रति लिटर ४८ रुपैयाँ ३६ पैसा दिने सरकारी नियम छ। ‘तीन वर्षअघि यो मूल्य कायम भएको हो। त्यसयता दाना चोक्कर र अन्य पदार्थको मूल्य निकै बढेको छ। दूधको मूल्य जस्ताको तस्तै हुँदा किसानलाई गाह्रो परेको छ,’ चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपानेले भने।

तीन वर्षअघि दूधको मूल्य समायोजन हुँदा गाईभैंसीले खाने चोक्करको मूल्य प्रतिकिलो २५ रुपैयाँ रहेको संघका सचिव किशोर बगालेले बताए। उनले बने, दानाको मूल्य किलोको २४र२५ रुपैयाँ थियो। ‘अहिले चोक्कर साढे ३७ रुपैयाँ किलो र दाना ३८ रुपैयाँ किलो पुगेको छ।’ संघका उपाध्यक्ष कृष्ण सापकोटा एक लिटर दूध उत्पादन गर्न ६० रुपैयाँभन्दा बढी खर्च लाग्ने बताए। ‘घाटा खाएर दूध बेचेका किसानलाई केही राहत होस् भनेर प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउन भनेका हौं,’ संघका अध्यक्ष न्यौपानेले भने।

किसानलाई बढी मूल्य तिर्दा उपभोक्तालाई मूल्य बढाउन नपर्ने उनले बताए। किसानले पाउने र उपभोक्ताले तिर्ने दूधको मूल्यको अन्तर अहिले नै २० रुपैयाँभन्दा बढी रहेका कारण किसानलाई मूल्य बढाउँदा उपभोक्तालाई मूल्य बढाउन नपर्ने न्यौपानेको भनाइ छ। केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक तथा राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य भगिरथ तिमिल्सिनाले १० रुपैयाँ मूल्य बढाउन सरकारलाई सिफारिस गरेको जानकारी दिए। ‘मूल्य वृद्धिका आधारमा प्रत्येक वर्ष मूल्य समायोजन गर्ने भन्ने कुरा ०६४ मा जारी भएको दूध नीतिमा उल्लेख छ। काम भने हुन सकेको छैन,’ तिमिल्सिनाले भने।

झन्डै ४१ वर्षअघि गाई पालेर दूध बेच्न थालेका भरतपुर महानगरपालिका–६ केशरबागका शोभाखर चापागाई व्यवस्था र सरकार फेरिए पनि किसानको मर्का बुझ्ने सरकार नआएको बताए। उनले ०३५ सालमा १३ वटा गाई पालेका थिए। त्यो बेला बजारमा ल्याएर बेच्दा तीन रुपैयाँ लिटरमा दूध बिक्थ्यो। बेच्न सजिलो थिएन। ०४१ सालमा सहकारी खोलेर प्रतिलिटर डेढ रुपैयाँमा दूध बेच्न थाले। अहिले ४५ देखि ५० रुपैयाँको हाराहारीमा दूधको मूल्य पाएका छन्। खर्च भने अस्वाभाविक रूपमा बढेको छ । ‘मैले व्यवस्था भोगें, धेरै थरी सरकार भोगें,’ चापागाईले भने, ‘पहिले र अहिलेको अवस्था एउटै छ। किसानबारे कुनै सरकारले आफैं सोच्दैन।

किसानहरू आफैं लागे, भिडे, कार्यालयहरू घेरे बल्लबल्ल एक डेढ रुपैयाँ मूल्य बढाउँछ।’ केन्द्र्रीय दुग्ध उत्पादक सहकारी संस्थाका अर्का सञ्चालक बालकृष्ण उप्रेती लागत मूल्यभन्दा कममा बेच्नुपर्दा व्यावसायिक किसानहरूले यो पेसा छाड्न थालेको बताउँछन। ‘दुई–चारवटा गाईभैंसी आफ्नै घर गोठमा राखेर परिवारका सदस्यले मिलिजुली हेरेर दूध उत्पादन गर्नेहरू जेनतेन टिकेका छन्। अलि लगानी गरेर, बैंकबाट ऋण लिएर यो पेसामा लागेकाहरू मूल्य नपाउँदा पेसा छाड्न बाध्य हुने गरेका छन्,’ उप्रेतीले भने। व्यावसायिक रूपमा गाईभैंसी पाल्न नसके उत्पादन कम हुने र दूध आयात गर्नुपर्ने विडम्बना निम्तने खतरा उनले औंलाए।

दूधको मूल्यको विषयमा पटकपटक आन्दोनल गर्दै आएका जिल्ला दुग्ध उत्पादक सहकारी संघका पूर्वअध्यक्ष शंकरराज राजभण्डारीले विदेशबाट फर्केर र अन्य पेसाबाट आएर गाईभैंसी पाल्न थालेका युवाहरूले फाइदा नहुने देखेपछि यो पेसाबाट पलायन हुन थालेको बताए। संघले दुग्ध उत्पादक सहकारीलाई कर पनि छुट हुनुपर्ने माग गरेको छ। दुग्ध सहकारीले नाफाको २० प्रतिशत कर तिर्नुपर्छ। देश दूध उत्पादनमा आत्मनिर्भर नहुँदासम्म दुग्ध सहकारीलाई कर लिन नहुने अध्यक्ष न्यौपानेले बताए।
 

कमेन्ट लोड गर्नुस