स्वास्थ्य सेवाको पहुँच बढाउँदै धनगढी उपमहानगर
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्दै उल्लेखनीय सुधार गर्दै आएको छ। उपमहानगरले विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकसहित विभिन्न कार्यक्रम सञ्चालन गरी नागरिकको घरदैलोमै निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको हो।
विसं २०७९ को स्थानीय तह निर्वाचनपछि नगरप्रमुख गोपाल हमालको नेतृत्वमा विसं २०७९ साउनदेखि वडा स्वास्थ्य क्लिनिक सेवा सुरु गरिएको हो। विशेषगरी ग्रामीण क्षेत्रका गरिब तथा विपन्न नागरिकलाई लक्षित गर्दै सुरु गरिएको यस सेवाबाट आर्थिक रूपमा कमजोर वर्गका नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्।
चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकमार्फत १५ हजार २३ जनाले सेवा लिएका छन्। कार्यक्रमका स्रोतव्यक्ति कृष्ण बोहराका अनुसार सेवा लिनेहरूमध्ये ११ हजार १९४ महिला र तीन हजार ८२९ पुरुष रहेका छन्।
क्लिनिकमा एक जना जनरल फिजिसियन, एक जना स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकको साथै गेटा आँखा अस्पताल र धनगढी नेत्रालयको सहकार्यमा आँखारोग विशेषज्ञद्वारा निःशुल्क सेवा प्रदान गरिँदै आएको छ। सो अवधिमा नौ हजार ३१० जनाले जनरल फिजिसियनबाट, एक हजार ५८० महिलाले स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट र चार हजार १३३ जनाले आँखारोगसम्बन्धी सेवा लिएका छन्।
यसैगरी नौ हजार ७७१ जनाले प्रयोगशाला सेवा, एक हजार ७७३ जनाले इसिजी सेवा र एक हजार ९०१ गर्भवती महिलाले स्वास्थ्य सेवा लिएका छन्। तीमध्ये सात सय २२ जनाले अल्ट्रासाउण्ड सेवा लिएका छन् भने ७० वर्षभन्दा माथिका तीन हजार ७३५ ज्येष्ठ नागरिकले सेवा प्राप्त गरेका छन्।
विपन्न नागरिकको घरदैलोमा निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रम प्रत्येक महिना उपमहानगरका १९ वटै वडामा सञ्चालन हुँदै आएको छ। गत आर्थिक वर्षमा मात्रै यस कार्यक्रमबाट ३३ हजार १४१ महिला र ११ हजार ३१० पुरुषले सेवा लिएका थिए।
‘आमा बचाउ’ अभियान
यसैगरी, उपमहानगरले गर्भवती, प्रसव र सुत्केरी महिलालाई लक्षित गर्दै ‘आमा बचाउ’ अभियानसमेत सञ्चालनमा ल्याएको छ। आव २०७९÷८० को मङ्सिरदेखि सुरु गरिएको यस अभियानअन्तर्गत ग्रामीण क्षेत्रका महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिँदै आएको छ।
स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म २३३ महिलाले निःशुल्क एम्बुलेन्स सेवा लिएका छन्। आमा र शिशुको स्वास्थ्यलाई ध्यानमा राखी उपमहानगरले चार वटा एम्बुलेन्समार्फत अस्पतालसम्म निःशुल्क सेवा उपलब्ध गराउँदै आएको छ। गत आर्थिक वर्ष २०८१÷८२ मा यस अभियानबाट ५८० महिलाले लाभ लिएका थिए।
“ग्रामीण क्षेत्रमा अस्पतालसम्म पुग्न सवारी साधनको अभाव हुने भएकाले यो अभियान सुरु गरिएको हो,” अवस्थीले बताए।