सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारको कृषि अनुदान पहुँचवालाको पोल्टामा, लम्कीमा मेयरले लिए अनुदान

२०७६ साउन २५, ०१:०६ जनक विष्ट

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७५-७६ मा कैलालीमा कृषि तर्फ विभिन्न शिर्षकमा ८५ लाख बराबरको अनुदान वितरण गरेको छ। तर उक्त अनुदान रकम वास्तविक किसान नभई आसेपासे, कार्यकर्ता, निकटका र पहुँच भएकालाई वितरण गरिएको आरोप लागेको हो। जिल्लाको लम्कीचुहा नगरपालिकामा नगर प्रमुख महादेव बजगाई र वडा नम्बर ४ का अध्यक्ष लालबहादुर बोगटीको फार्मलाई अनुदान दिईएको छ।

प्रदेश सरकारले नगर प्रमुख र वडा अध्यक्षको लगानी रहेको वडा नम्बर ४ मा रहेको त्रिपुरा युनाईटेड एग्रो एण्ड रिसर्च सेन्टरलाई अनुदानको चार लाख २० हजार बजेटमा ३० वटा बाख्रा खरिद गर्दै वितरण गरेको पाईएको हो। तर वडा अध्यक्ष लाल बहादुर बोगटीले उक्त फार्ममा मेयर र आफ्नो मात्र नभई निम्न स्तरका किसानको समेत लगानी रहेको बताए।

बोगटीले कृषि पेशालाई प्रोत्साहन गर्न फार्ममा अनुदान हालिनु गलत नभएको तर गलत रुपमा प्रचार गर्न खोजिएको आशय व्यक्त गरे। उक्त फार्मलाई प्रदेश सरकार मात्र नभई नगरपालिकाबाट समेत विभिन्न खालको अनुदान दिईएको स्रोतको दावी छ।

लम्कीचुहा नगरपालिकाकी उपप्रमुख टीका थापाले कृषि अनुदान वितरणमा मनपरी गरी जनप्रतिनिधीकै फार्मलाई छनौट गरिएको भन्दै यसअघि सार्वजनिक कार्यक्रममै विरोध जनाएकी थिईन्। स्थानीय तहको सिफारिसका आधारमा प्रदेशको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले अनुदानमा बाख्रा वितरण गरेको थियो।

पशु सेवा विज्ञ केन्द्रले पनि अनुदानका लागि फार्म सिफारिस गर्ने स्थानीय तहकै जनप्रतिनिधिलाई अनुदान पारेको आरोप लागेको छ। तर  भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख पान सिह ठगुन्नाले स्थानीय तहले सिफारिस गरेका फार्महरुको अनुगमन गरेरै अनुदान दिईएको दावी गरे।

प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले गत वर्ष स्थानीय तहको सिफारिसका आधारमा मातहतका निकायबाट कैलालीमा मात्र झण्डै ८५ लाख बराबरको अनुदान वितरण गरेपनि वास्तविक किसानले नपाएको गुनासो गरिएको छ। धनगढीका बाख्रा पालक किसान हेम बहादुर विष्टले सांसद, मन्त्री र स्थानीय तहका जनप्रतिनिधिले अनुदानलाई कार्यकर्ता पाल्ने माध्यम बनाउँदा वास्तविक किसान मारमा परेको बताए।

विष्टले वषौदेखि कृषि व्यवसायमा सक्रिय रहेका किसानलाई उपेक्षा गरी अनुदान वितरण गरिनु दुःखद भएको जनाए। प्रदेशको कृषि मन्त्रालयले बाख्रा अनुदान तर्फ कैलालीमा चार लाख २० हजार र दुई लाख १० हजारका दरले चार वटा फार्मलाई ९० वटा बाख्रा वितरण गरेको छ भने जिल्लाका पाँच जना किसानलाई एक–एक लाखमा राँगो वितरण गरेको छ।

यस्तै डेरी पसल सुधार कार्यक्रम अन्र्तगत १९ लाख, मासु पसल सुधार कार्यक्रम अन्तरगत ९ लाख, युवा लक्षित वंगुर पालनतर्फ साढे ७ लाख, युवा लक्षित व्यवसाय गाई भैँसी पालन कार्यक्रम अन्तरगत चार लाख, सीमान्तकृत लक्षित वंगुरपालन कार्यक्रम अन्तरगत १७ लाख ४० हजार, पशु आहारा सेवा कृषि यान्त्रिकीकरण च्याफकटर खरिदमा ५० प्रतिशत अनुदानको चार लाख ७६ हजार र  मस्त्य विकास कार्यक्रम अन्तरगत ६ लाख ६६ हजार गरी ८५ लाख बराबरको अनुदान वितरण गरेको छ। तर अनुदान वितरणमा मनोमानी गरिएको विषयमा प्रदेशको कृषि मन्त्रालयका सूचना अधिकारी डाक्टर विश्वश्वर प्रसाद खनालले लिखित रुपमा गुनासो आएमा मन्त्रालयले छानविन गर्ने बताए। 

  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस