सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा बाघको छाला सहित सशस्त्र प्रहरी पक्राउ

२०७६ साउन २५, ०९:५२ नरेन्द्र कार्की

दार्चुला–जिल्लाको दुहुँ गाउँपालिका ३ तिमुरपाटा क्षेत्रबाट चरि बाघको छाला सहित प्रहरीले एक जना पक्राउ गरेको छ। शुक्रबार राती नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ २ हिकिलाबाट खलंगा ल्याउँदै गरेको चरि बाघको छाला सहित सोही ठाउँका दिपक सिह बडाललाई पक्राउ गरेको हो। 

प्रहरी चौकी ब्रह्मदेवले चेकजाँचको क्रममा बडालबाट ३९ इन्च लम्बाई र १० इन्च चौडाई भएको चरि बाघको छाला सहित भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक  रविन्द्र कठायतले जानकारी दिए। हिकिला २ घर भएका बडाल सशस्त्र प्रहरी सुरक्षा गुल्म नम्बर ५० दार्चुलामा जवान पदमा कार्यरत हुन्। झोला भित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा नियमित चेकजाँचको क्रममा चरिबाघको छाला फेला पारिएको पत्रकार सम्मेलन मार्फत निमित्त प्रहरी प्रमुख समेत रहेका कठायतले बताए। 

छाला सहित व्यक्तिलाई आवश्यक अनुसन्धानको लागि अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलालाई जिम्मा लगाइने बताइएको छ। अपि नाम्पा संरक्षण क्षेत्रभित्रबाट उनलाई पक्राउ गरिएको हो। अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले भने उनलाई राष्ट्रिय वन्यजन्तु तथा संरक्षण ऐन अनुसार कारवाही अगाडी बढाइने सहायक संरक्षण अधिकृत राजु घिमिरले जानकारी दिए। 
 

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस