सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेनजी आन्दोलनमा क्षतिग्रस्त सुदूरपश्चिमका भवन मर्मतको लागी बजेट अभाव

२०८२ पुष २, ०४:३६ रासस

सुदूरपश्चिम: जेनजी प्रदर्शनका क्रममा क्षति पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालय भवनहरू मर्मत गर्न समस्या भइरहेको छ। पर्याप्त बजेट नहुँदा र मर्मत खर्च गर्ने प्रक्रिया लामो हुँदा पुरानै अवस्थामा फर्काउन कठिनाइ परेको छ।

कम क्षति भएका भवनका कोठाको मर्मत र रङ्गरोगन काम भने पहिले नै सुरु भइसकेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता नवराज ओझाले प्रचलित नियम र प्रक्रियाभित्र रहेर काम गर्नुपर्ने तर बजेट अभावले मर्मतमा ढिलाइ भइरहेको बताए।

प्रदेशका मन्त्रालय तथा कार्यालयहरूले चालु वर्षको बजेट रकम रकमान्तर गर्न आर्थिक मामिला मन्त्रालयमा पत्राचार गरेका छन्। जेनजी घटनापछि सरकारले खर्च कटौती र मितव्ययी तरिकाले काम गर्न परिपत्र जारी गरेको थियो।

आगजनी र तोडफोडका कारण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय, प्रदेशसभा सचिवालयलगायतका भवनका धेरै कोठा बस्न नमिल्ने गरी क्षति पुगेका छन्। सुदूरपश्चिम प्रदेशसभाको बैठक भवन मर्मत नहुँदा लामो समयसम्म बस्न सकेको छैन।

प्रदेशसभाको भवनलाई बस्न मिल्ने गरी मर्मत गर्न पहल भइरहेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालय अन्य भवनमा सारिएका छन्।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सामान्य मर्मत र रङ्गरोगन गरी काम चलाइएको छ।

कैलाली जिल्लामा जेनजी आन्दोलनमा सरकारी कार्यालय, राजनैतिक दलका कार्यालय र निजी घरसमेत १३७ भवनमा आगजनी र तोडफोड भएको थियो भने ६६४ सवारी साधन नष्ट भएका थिए।

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका वरिष्ठ इन्जिनीयर झङ्कर थापाले २१ भवनमा क्षति पुगेको र केही कोठामा ‘आंशिक रेड स्टिकर’ टाँस गरिएको जानकारी दिए।


 

कमेन्ट लोड गर्नुस