सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा प्रथम सत्यवती छात्र फुटबल कप सुरु, २३ विद्यालयको सहभागिता

२०८२ मंसिर २९, ०२:०७ खबर संवाददाता

अत्तरिया: कैलालीको अत्तरियास्थित सत्यवती एकेडेमीमा प्रथम सत्यवती छात्र फुटबल कप सोमबारदेखि सुरु भएको छ। एक औपचारिक कार्यक्रमका बीच कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि आयोजना गरिएको उक्त प्रतियोगिताको उद्घाटन निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) केन्द्रीय कमिटीका सल्लाहकार जगवीर थापाले गरे।

उद्घाटन कार्यक्रममा बोल्दै थापाले नगरमा तीन वटा विद्यालयले संयुक्त रूपमा फुटबल फेस्ट आयोजना गरिरहेको जानकारी दिए। उनका अनुसार कक्षा ८ सम्मका विद्यार्थीहरूका लागि ज्ञानज्योति एकेडेमीले प्रतियोगिता आयोजना गरिरहेको छ भने कक्षा ६ सम्मका छात्रहरूका लागि सत्यवती एकेडेमीले र कक्षा ८ सम्मका छात्राहरूका लागि एभरेष्ट एकेडेमीले प्रतियोगिता आयोजना गर्नेछ।

विद्यार्थीहरूमा सानैदेखि फुटबलप्रतिको रुचि बढाउन र डिजिटल ग्याजेट्सप्रतिको आकर्षण घटाउन प्रतियोगिता आयोजना गरिएको थापाले बताए। “आजका बालबालिकामा डिजिटल ग्याजेट्सको लत बढ्दो छ। त्यसलाई कम गरी उनीहरूलाई शारीरिक रूपमा सक्रिय र स्वस्थ बनाउन यस्ता प्रतियोगिता आवश्यक छन्,” उनले भने। डिजिटल माध्यमबाट खेल खेल्नु भन्दा प्रत्यक्ष रूपमा मैदानमा खेल्दा स्वास्थ्य राम्रो हुने विश्वास उनले व्यक्त गरे।

त्यस्तै, सत्यवती एकेडेमीकी प्रिन्सिपल यशोदा ध्याडी कडायतले प्रतियोगितामा नगरभित्रका २३ वटा संस्थागत विद्यालयको सहभागिता रहेको जानकारी दिए। साना बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्दै मानसिक तथा शारीरिक स्वास्थ्य सुधार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो।

प्रतियोगिताको विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछ। साथै उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर र प्लेयर अफ द टुर्नामेन्टलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस