कैलालीका पालिकामा बेरुजु बढ्दो, कसको कति?
धनगढीः कैलालीमा सबैभन्दा बढी बेरुजु रहेको गोदावरी नगरपालिकामा पछिल्लो तीन आर्थिक वर्षमा एक रुपैयाँ पनि बेरुजु फर्छ्यौट नभएको तथ्य सार्वजनिक भएको छ। महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन, २०८२ अनुसार आर्थिक वर्ष २०७८/०७९ मा गोदावरी नगरपालिकाको कुल बेरुजु ४३ करोड ८६ लाख ३१ हजार रुपैयाँ थियो।
आर्थिक वर्ष २०७९/०८० मा बेरुजु फछ्र्यौट हुन नसक्दा थप ५ करोड ४२ लाख ७६ हजार रुपैयाँ बेरुजु जोडिएर कुल बेरुजु ४९ करोड २९ लाख ७ हजार पुगेको थियो। आर्थिक वर्ष २०८०/०८१ मा पनि पुराना बेरुजु फर्छ्यौट नभई नयाँ ५ करोड ८ लाख ७३ हजार ६१५ रुपैयाँ थपिँदा गोदावरी नगरपालिकाको कुल बेरुजु ५४ करोड ३७ लाख ८० हजार ६१५ रुपैयाँ पुगेको छ। नगरपालिकाले प्रतिक्रियाबाट आएका बेरुजु मात्र फर्छ्यौट गरे पनि अद्यावधिक बेरुजु फर्छ्यौटमा ध्यान नदिँदा बर्सेनि बेरूजु बढ्दै गएको देखिन्छ।
कैलालीकै घोडाघोडी नगरपालिकाको अवस्था पनि उस्तै रहेको छ। यहाँ कुल बेरुजु ५२ करोड ७१ लाख ७० हजार १५५ रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० मा बेरुजु फर्छ्यौट शून्य रहँदा आर्थिक वर्ष २०८०/०८१ मा मात्र ६२ हजार १६५ रुपैयाँ फर्छ्यौट गरिएको थियो। तर सोही वर्ष थप ३ करोड १७ लाख ४९ हजार ३१२ रुपैयाँ बेरुजु जोडिँदा कुल बेरुजु झनै बढेको हो।
यी दुई पालिका प्रतिनिधि उदाहरण मात्र हुन्। कैलालीका अधिकांश स्थानीय तहमा बर्सेनि बेरुजु थपिँदै गएको भए पनि फर्छ्यौटप्रति उदासीनता देखिएको छ, जसका कारण बेरुजुको आकार निरन्तर बढ्दो छ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन २०८२ अनुसार सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ मा मात्र २ अर्ब ११ करोड ४१ लाख ७ हजार रुपैयाँ बेरुजु देखिएको थियो। तीमध्ये कैलालीका १३ स्थानीय तहमा ४७ करोड ६९ लाख २४ हजार २९३ रुपैयाँ बेरुजु रहेको उल्लेख छ।
यसअन्तर्गत चुरे गाउँपालिकाको बेरुजु ७ करोड ६ लाख ७३ हजार, लम्कीचुहा नगरपालिकाको ५ करोड ५७ लाख ८८ हजार, भजनी नगरपालिकाको ४ करोड ७४ लाख ९५ हजार, धनगढी उपमहानगरपालिकाको ४ करोड ७२ लाख ६९ हजार र टीकापुर नगरपालिकाको ४ करोड २९ लाख ७ हजार रुपैयाँ रहेको छ।
त्यसैगरी कैलारी गाउँपालिकामा ३ करोड ३८ लाख २५ हजार, गौरीगंगा नगरपालिकामा ३ करोड २० लाख ९५ हजार, जानकी गाउँपालिकामा १ करोड ५५ लाख ९० हजार, बर्दगोरिया गाउँपालिकामा १ करोड ३६ लाख १४ हजार र जोशीपुर गाउँपालिकामा ९६ लाख ७९ हजार रुपैयाँ बेरुजु देखिएको छ।
आर्थिक वर्ष २०८०/०८१ मा थपिएको बेरुजुसँगै कैलालीका पालिकाहरूको कुल बेरुजु ४ अर्ब ११ करोड ७ लाख २६ हजार १९६ रुपैयाँ पुगेको छ। यसअनुसार गोदावरी नगरपालिकाको बेरुजु ५४ करोड ३७ लाख ८० हजार ६१५, घोडाघोडी नगरपालिकाको ५२ करोड ७१ लाख ७० हजार १५५, लम्कीचुहा नगरपालिकाको ५२ करोड ६४ लाख २९ हजार ७२२ र भजनी नगरपालिकाको ३७ करोड ३९ लाख ६१ हजार ८१५ रुपैयाँ पुगेको छ।
त्यस्तै टीकापुर नगरपालिकाको कुल बेरुजु ३४ करोड ५१ लाख ५० हजार २२१, गौरीगंगा नगरपालिकाको ३३ करोड ३६ लाख ३ हजार ५३८, धनगढी उपमहानगरपालिकाको ३० करोड ६८ लाख ५७ हजार ६४९, जानकी गाउँपालिकाको २१ करोड ३० लाख ५५ हजार ५६३, बर्दगोरिया गाउँपालिकाको १८ करोड ४२ लाख ५० हजार २८२, चुरे गाउँपालिकाको १६ करोड ७१ लाख ४ हजार ९३० र जोशीपुर गाउँपालिकाको १२ करोड ९७ लाख २३ हजार ४७५ रुपैयाँ पुगेको छ।