स्थानीय उत्पादन बिक्री गर्ने थलो बन्दै सुदूरपश्चिम महोत्सव
धनगढी: धनगढीमा सुदूरपश्चिम महोत्सवको १९ औं संस्करण चलिरहेको छ। २०६३ सालबाट सुरू भएको सुदूरपश्चिम महोत्सव कैलाली उद्योग वाणिज्य संघले हरेक वर्ष मंसिर २२ देखि पुस २ गतेसम्म आयोजना गर्दै आएको छ।
सुदूरपश्चिमको उद्योग, पर्यटन कृषि, व्यापार र संस्कृतिको प्रचारप्रसार र प्रवर्द्धन गर्ने उदेश्यले सुरू भएको महोत्सवमा स्थानीय उत्पादनले राम्रो बजार पाउन थालेको छन्।
यो वर्ष सुदूरपश्चिम महोत्सवमा कर्णालीबाट सारा रेशा प्रशोधन तथा तयारी वस्तु होजियारी उद्योग गमगढी, मुगुका मङ्गलसिंह साउँदले आफैले उत्पादन गरेको भेडाको ऊनबाट बुनेको कोट पैन्टको कपडा र मुफलर बिक्रीका लागि राखेका छन्। साउँदले कोटको कपडा ८ हजार तथा पैन्टसहित १५ हजारमा बिक्री भइरहेको बताएका छन्। उनले मुफलर भबे एक हजार पाँच सयमा बिक्री भइरहेको बताए। पहिलो पटक सुदूरपश्चिम महोत्सवमा आएका उनले हातले बुनेको कपडा बिक्री गर्न आएको बताए।
कैलालीको घोडाघोडीमा रहेको अभिषेक मौरी पालन फर्मकी सञ्चालक उमा खत्रीले गत वर्ष ४० हजारको मह बिक्री भएको बताएकी छन्। यो वर्ष उनले किलोको हजार रुपैयाँको दरले रुदिलो र च्युरीको मह बिक्रीमा राखेकी छन् भने तोरीको मह ८ सय रुपैयाँको दरले बिक्री गरिरहेको बताइन्। "गत वर्ष ४० हजारको मह बिक्री भएको थियो। यो पटक त्योभन्दा बढी बिक्री होला भन्ने अनुमान छ," खत्रीले भनिन्।
गणेश प्रसाद भट्टले यो वर्ष पहिलोपटक महोत्सवमा स्टल राखेका छन्। डडेल्धुराको अजयमेरु- ४ भुल्कुडाका भट्टले बिक्री सन्तोषजनक रहेको बताए। उनले भने, "मैले मह घ्यू, सिस्नुको धुलो, राजमा, सोट्टा, गहत, मकैको पिठो, कोदोको पिठो,गुन्द्रुक, सिन्की, मौसम, सुन्तला, करेलाको बिउ, कालो पहाडी तिल बिक्रीमा राखेको छु। बिक्री संतोषजनक छ।"
विगत दस वर्षदेखि बैतडीको दोगडाकेदार-७ टेकबहादुर कार्की सुदूरपश्चिम महोत्सवमा स्टल राख्दै आएका छन्। उनले पहाडी धानको सिरौला, किबि, गुड, मह, घ्यू, विभिन्न किसिमको दालहरू, तिमुर, अचार, सुपा, नाङ्ला, टोकरी, फापर, मकै र कोदोको पीठो बिक्री गरिरहेका छन्। कार्कीले जोरायली बास्मती, बझाङको मार्सी चामलसमेत बिक्री गरिरहेका छन् । "म १० वर्षदेखि महोत्सवमा आइरहेको छु। महोत्सवमा राम्रो बिक्री हुन्छ। प्रचारप्रसार पनि हुन्छ," उनले भने, "महोत्सवमामा हरेक वर्ष पुरस्कृत हुने गरेको छु। यो वर्ष पनि उद्योग वाणिज्य संघले २० हजार पुरस्कार दियो। हरेक वर्ष स्टल पनि नि:शुल्क छ।" कार्कीले कैलाली उद्योग वाणिज्य संघबाट अहिलेसम्म लगभग २ लाख ५० हजार पुरस्कार पाएको बताएका छन्।
बैतडीका रामदत्त भट्टले यो वर्ष पहिलोपटक पहाडी दाल, गेडागुडी, चुक, ओखर लगायतका उत्पादन बिक्री गर्न आएको बताए। उनले महोत्सवमा राम्रो व्यापार भइरहेको बताएका छन्।
यस्तै, धनगढी-९ का रामचन्द्र गिरी र शान्तिदेवी गिरीले सुदूरपश्चिम महोत्सवमा आनन्दी अचार बिक्री गरिरहेका छन्। उनीहरूले ११ किसिमको अचार बिक्री गरिरहेका छन् । १५० देखि ५०० मा अचार बिक्री भइरहेको गिरीले बताए। उनीहरूले महोत्सवमा मिक्स अचार, आँपको अचार, कागतीको अचार ,तामाको अचार, अमलाको अचार, लसुनको अचार, लप्सीको अचार, अकबरे खुर्सानीको अचार, हरियो खुर्सानीको अचार, तितेकरेला, कटहरको अचार राखेका छन्। ८ वर्षदेखि महोत्सवमा आउन थालेको बताउने गिरीले स्टल भने कृषि ज्ञान केन्द्रले नि:शुल्क उपलब्ध गराएको बताए।
शिवकुण्ड अचार उद्योग, गोदावरी- ९ बाट बालकुमारी चौधरी भने पहिलोपटक महोत्सवमा आएकी हुन्। उनले अमला कागती, लसुन बयर,मासुको तामाको अचार ल्याएकी छन्। चौधरीले प्रचारप्रसार राम्रो भइरहेको तर बिक्री भने कम भइरहेको बताइन्।
धनगढी-५ तारानगरकी कविता पन्तले नट्स लड्डु, इनर्जी बुस्ट पाउडर सुत्केरी मसला, अचार, कोदोको सातु, लिटो, वनसिलाम बिक्रीका लागि राखेकी छन् उनले महोत्सवमा ठिकठिकै बिक्री भइरहेको बताएकी छन्।
दार्चुलाको नौगाड -१ का ललितसिंह ठगुन्ना, पहिलोपटक महोत्सवमा आएका हुन्। उनले मार्सी चामल, मासको दाल, कालो गहत, राजमा, बासमती चामल,अचार, मह, घ्यू, तिमुर, सोट्टा, अल्लोको कपडा राखेका छन् ठगुन्नाले हेर्न धेरै जना आएको तर खासै बिक्री नभएको बताएका छन्।