सुदूर नेपाललाई विश्वसँग जोड्दै

नक्कली डकुमेन्टको सफल परिक्षणपछि तय भएको नक्कली नोट छाप्ने यात्रा

२०७६ साउन २४, १२:४९ रोशन भट्ट

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नम्बर ६ का स्थानीय गोकुल बहादुर खड्कालाई प्रहरीले यहि साउन २१ गते काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ को कोटेश्वर बाट पक्राउ ग¥यो। खड्कालाई प्रहरीले मेसिनबाट धनगढीमा नक्कली नोट बनाउँदै बजारमा पठाउने गरेको आरोपमा पक्राउ गरेको हो। तर उनी पक्राउ परेपछि प्रहरीले अनुसन्धानका क्रममा उनको विगत कोट्याउँन थालेको छ।

प्रहरीको प्रारम्भीक अनुसन्धानमा उनी विगत लामो समयदेखि नक्कली कागजपत्र (नागरिकता, सर्टिफिकेट, मार्कसेट) लगायतका डकुमेन्ट बनाएर बिक्रि गर्दै आएको व्यक्ति भएको खुलेको छ। खड्का धनगढी मात्र नभएर देशका अन्य क्षेत्रमा बसेर समेत नक्कली कागजपत्र छपाईमा संक्रिय रहेको पाईएको प्रहरी अनुसन्धानले देखाएको छ।

उनकै सक्रियतामा गत चैत्र देखि धनगढीमा पनि नक्कली नोट छाप्ने काम थालिएको पाईएको छ। उनले आफ्नो सम्पर्कमा रहेका कैलालीका केही युवाहरुलाई पनि नक्कली नोट छाप्ने काममा प्रयोग गरे। जसमा तीन जना अहिले प्रहरीको हिरासतमा रहेका छन्। कैलालीका  प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले नक्कली कागजजातसंगै नोट छाप्ने कला सिकेका खड्काले नै ती युवाहरु पनि नक्कली नोट छाप्न सिकाएको खुल्न आएको बताउँछन्।

धनगढीको नैनादेवी टोलमा कोठा भाडामा लिएर बसेका कैलालीको चुरेका खग्रेन्द्र रजवार सहितका युवाहरुले खड्काकै सल्लाह अनुसार नक्कली नोट बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा समेत पठाउने गरेको प्रहरीले जनाएको छ। पक्राउ  परेका चारै जनाको भूमिका फरक फरक देखिएको छ।

प्रहरीका अनुसार खगेन्द्र रजवारले मेसिन खरिद गर्दा पैसाको वन्दोबस्त गर्दै नोट कटिङ, फिनिसिङ तथा ग्राहाकको बन्दोबस्त मिलाउने थियो त  भोज बहादुर बम उनको सहयोगीको भूमिकामा देखिए। धनगढीकै पल्लप राज भट्टलाई नक्कली नोटको कारोवार गर्न ग्राहाक तयार गर्ने जिम्मेवारी दिईएको थियो।

मुख्य भुमिकामा रहेका खड्का भने प्राविधिक पक्षको सेटिङ मिलाउने भुमिकामा देखिन्छन्। नक्कली नोट छापेपछि परिक्षणका लागि उनीहरुले धनगढीको एक पसलमा रिचार्ज कार्ड किनेका थिए। नक्कली नोटको उक्त परिक्षण सफल भएपछि उनीहरुले बजारमा कारोवार बढाएका थिए। उनीहरुले नेपाली मात्र नभई भारतीय नोट पनि निकाल्दै बजारमा पठाउने गरेका थिए। अहिले अदालतबाट म्याद थप गरी उनीहरुमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।   
 
  

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस