सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटकीय गन्तव्य बन्दा तालमा एक सय मिटरको पर्खाल र माटो भरानमा ५० लाख सकियो

एक करोड बजेटमा पनि अनियमितताको आशंका

२०७६ साउन २४, ११:१७ जनक विष्ट

संघिय सरकारले घोषणा गरेका एक सय पर्यटकिय गन्तव्यमा परेको कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको बन्दा तालमा एक सय मिटर पर्खाल र माटो भरान गरी ५० लाख खर्च गरिएको छ। पर्यटन गन्तव्य बनाउन संघिय सरकारले पठाएको बजेट पर्खाल निर्माण र माटो भरानको काम देखाएर कार्यकर्तालाई वितरण गरिएको आरोप लागेको छ।

बेलौरी नगरपालिकामा पर्ने उक्त ताल संरक्षणका लागि संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले पठाएको बजेटमा नगरपालिकाले मिलेमतोमा ठेक्का पारी माटो भरान र पर्खाल निर्माण गरेको देखाउँदै बजेटको दुरुपयोग गरिएको आरोप लागेको छ। मेयरमा पराजीत भएका नेपाली कांग्रेसका नेता हरेन्द्र विष्टले नगरपालिकाका जनप्रतिनिधीले निकटका व्यक्तिलार्ई ठेक्का पारी बजेट कुम्ल्याएको आरोप लगाए।

उनले निकटका व्यक्तिलाई ठेक्का पारी ताललाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले नगरपालिकाले बनाएको गुरु योजना विपरीत गएर काम गर्दै बजेट खर्च गरिएको जनाए। विष्टले फिल्डमा न्युन काम गरी बढि काम भएको देखाई पूर्ण रकम भुक्तानी गरिएको आरोप लगाएका छन्।पर्यटन मन्त्रालयले पठाएको ५० लाखको बजेटमा नगरपालिकाले हिल्स निर्माण सेवालाई साढे ४८ लाखमा ठेक्का दिदै तालको  ७० मिटर लम्बाई र १५÷१५ मिटर चौडाई गरी एक सय मिटर क्षेत्रमा पर्खाल निर्माण गरी माटो भर्दै भुक्तानी दिईसकेको छ।

स्टमेट अनुसार ७० मिटर लम्बाई र ३० मिटर चौडाईको पर्खाल निर्माण गरी माटो भरान गर्ने ठेक्का गरिएपनि लम्बाई र चौडाई समेत गरी एक सय दुई मिटरको पर्खाल निर्माण गरी माटो भरान गरिएको निर्माण व्यवसायी सुभम  सिह रावलले बताए। नगरपालिकाले संघिय सरकारको बजेट मात्र नभई स्वयंम आफैले पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासका लागि भन्दै सोही तालका लागि छुट्याएको एक करोड बजेटमा पनि मनोमानी गरेको आरोप लागेको छ।

                                                       बेलौरी नगरपालिकाको ९७ लाखको लागतमा निर्माण भईरहेको गेट 

इ–विडिङ मार्फत बोलपत्र आह्वान गरेको नगरपालिकाले एक करोडको बजेटमा तीन लाख मात्र घटेर ९७ लाखमा आरभ कन्सट्रक्सन प्राली मार्फत गेट निर्माण र कंक्रिट ब्लक विछाउने काम गरिरहेको छ। गत वर्ष असारमै सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएपनि अहिले सम्म १५ प्रतिशत मात्रै काम भएको छ। तर निर्माण व्यवसायी उपेन्द्र शाहीले भने आफूले नगरपालिकाले तयार गरेको स्टमेटकै आधारमा काम गरिरहेको जनाए।

उनले नगरपालिकाले साईड उपलब्ध नगराउँदा काममा ढिलाई भएको जिकिर गरे। विभिन्न जलचर पंक्षीका लागि प्रसिद्ध मानिएको तालको संरक्षण सम्वद्र्धन र पूर्वाधार विकास गर्दै पर्यटन प्रर्वद्धनका लागि छुट्याईएको बजेटमा मनोमानी गर्दै कार्यकर्ता खुसि बनाउन थालिएपछि पर्यटन प्रवद्र्धन हुनेमा आशंका गरिएको छ।

झण्डै २७ बिघा क्षेत्रफलमा फैलिएको ताल संरक्षणमा ध्यान नदिदा पुरिदै गएका बेला आएको बजेटको पनि दुरुपयोग हुने क्रम बढ्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता समेत व्यक्त गरेका छन्। तर बेलौरी नगरपालिकाका इन्जिनीयर महेश भट्टले स्थानीयलाई काम कम लागेपनि डिजाईन स्टमेट अनुसार नै काम भईरहेको दावी गर्दै सोही आकारको बजेट रहेको दावी गरे।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। सोही कुरालाई मध्यनजर गरी सुदूरपश्चिमका १० सहित देशभर एक सय पर्यटकीय गन्तव्य घोषणा गरिएको छ तर पर्यटकीय गन्तव्यको संरक्षण र पूर्वाधार विस्तारका लागि आएको बजेट दुरुपयोग हुने क्रम रोकिन सकेको छैन्। 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस