सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोबाइल र साइकल सहयोग पाएपछि कैलालीका भलमन्सा र चौकिदारलाई काम गर्न सजिलो

२०८२ मंसिर २६, ०२:१४ खबर संवाददाता

घोडाघोडीः थारु समुदायमा गाउँघरमा आइपर्ने सानातिना समस्या समाधानका लागि होस् या सामूहिक कार्यका लागि बडघर(भलमन्सा) को भूमिकालाई महत्त्वपूर्ण मानिन्छ । पछिल्लो समय स्थानीय सरकारले भलमन्सा र चिराकीको भूमिकालाई सहज र प्रभावकारी बनाउन विभिन्न तालिम तथा सहयोगी सामग्री प्रदान गर्न थालेपछि उनीहरुलाइ अझै सहज भएको छ ।

स्थानीय सरकारको सहयोगले कार्यव्यवस्थापनमा सहजता भएको अनुभव चिराकी तथा भलमन्साको छ । लम्कीचुहा नगरपालिकाले हालै चिराकीका लागि ५० वटा साइकल र भलमन्साका लागि ४८ वटा स्मार्ट फोन सहयोग ग¥यो । लम्कीचुहाका भलभन्साहरुले स्मार्ट मोबाइल फोन सहयोग पाएपछि खुशी हुँदै खबर आदानप्रदानमा सहज हुने बताए ।

फोन सम्पर्कका लागि सामान्य मोबाइल भए पनि इन्टरनेटबाट चल्ने नभएको अवस्थामा स्मार्ट फोन पाएपछि नगरभरिका भलमन्साहरु समूह कलमा जोडिएर आफ्नो गाउँ ठाउँको विकासमा छलफल गर्न सजिलो हुने भलमन्साहरुले सुनाए ।

गाउँ समाजमा आफ्नो रीतितिथि बसाल्ने, सामाजिक र विकास निर्माणको कार्यका लागि भलमन्साको भूमिका हुन्छ । भलमन्साले कुनै कामकाजका लागि खबर पु¥याउन चिराकी राखे पनि हिँडेरै गाउँभरि सूचना पुर्याउनुपर्ने हुन्छ । दुबैका माग बमोजिम कार्य भूमिकालाई सहज, छिटो छरितो बनाउन मोबाइल र साइकल वितरण गरिएको नगरप्रमुख सुशीला शाहीले बताईन्। 

उनले सात लाख २५ हजार रुपियाँ बराबरको ४८ वटा मोबाइल र तीन लाख ६० हजार रुपियाँ बराबरको ५० वटा साइकल कार्यपालिकाबाट पास गरेर दिने निर्णय बमोजिम सहयोग प्रदान गरिएको जानकारी दिईन्। 

लम्कीचुहाले जस्तै घोडाघोडी नगरपालिकाले समेत भलमन्सा र चिराकीलाई साइकल सहयोग गर्नुका साथै मेलमिलापसम्बन्धी तालिमसमेत दिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न वडाले आवश्यकताका आधारमा साइकल सहयोग गरेको जनाइएको छ । घोडाघोडी नगरपालिका १ बेलार गाउँका चिराकी गङ्गाराम चौधरीले वडाबाट साइकल पाएपछि सूचना पुर्याउन सजिलो भएको बताए। 

उनले खुशी हुँदै भने, ‘पहिला त हिंडेर गाउँभरि डुल्नुपथ्र्याे । साइकल पाएपछि सजिलो भएको छ । साइकल चलाएर नै घरघर खबर पुर्याउन जान्छु । आज बिहान पनि गाई गोरुलाई खोरेतको सुई लगाउनका लागि सबैलाई खबर गरेर आएँ । डेढसय घरमा खबर पुर्याउनु पर्छ।’

साइकल पाएपछि गङ्गाराम जस्तै अन्य चिराकीलाई पनि सजिलो भएको छ । घोडाघोडी नगर भलमन्सा समितिका अध्यक्ष बुधराम चौधरीले स्थानीय तहले भलमन्साहरुका लागि मेलमिलापसम्बन्धी तालिम दिएको बताए। उनले भने, “हामी आफ्नो समुदायमा आफ्नै तरिकाले सानो तिनो मुद्दाको छिनोफानो गर्ने भए पनि मेलमिलाप तालिमले समाजमा आइपर्ने विभिन्न समस्या समाधानका लागि थप सहयोग पुगेको छ ।”

घोडाघोडी नगरपालिकामा ७६ वटा थारु गाउँमा ७६ जना भलमन्सा र चिराकीले परम्परागत बड्घर प्रथालाई निरन्तरता दिइरहेका छन् । घोडाघोडी नगरपालिका विभिन्न वडाले चारलाख ५० हजार रुपियाँ बराबरको साइकल चिराकी र भलमन्सालाई सहयोग गरेको घोडाघोडी नगरपालिका लेखा शाखाले जनाएको छ ।

बर्दगोरिया, गौरिगङ्गा, जोशीपुरलगायत स्थानीय तहले पनि चिराकी र भलमन्साको भूमिकालाई सहज बनाउन तालिमलगायतका सहयोग गरेको जनाइएको छ ।
 

कमेन्ट लोड गर्नुस