१२ वर्षदेखि छोराको न्यायका लागि भौतारिँदै धनगढीका पन्त
धनगढीः कैलालीको धनगढीका ओमप्रकाश पन्तको हत्या भएको आज १२ वर्ष पुगेको छ। तर अदालतमा दोषी ठहरिने त कुरै छाडौँ, घटनामा संलग्न कसैलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। यही कारण ओमप्रकाशका बुवा श्रीकृष्ण पन्त वर्षौंदेखि न्यायका लागि संघर्षरत छन्।
मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै पन्तले छोराको हत्या प्रकरणको पुनः अनुसन्धान गर्नुपर्ने माग राखे। उनका अनुसार छिमेकीसँग जग्गाको सीमासम्बन्धी विवाद पहिलेपासै चल्दै आएको थियो।
'सीमा विवादकै कारण छोरालाई योजनाबद्ध रूपमा मारिएको हो,' श्रीकृष्णले भने, 'मैले संलग्न हुने शंका लागेका व्यक्तिको नाम प्रहरीलाई पटक–पटक दिएको छु। तर, ठोस प्रमाण संकलन नहुँदा उनीहरू घुमिरहेका छन्।'
उनका अनुसार प्रहरी अधिकारीहरूले 'अनुसन्धान चलिरहेको छ' भन्ने सामान्य जवाफ मात्र दिँदा वर्षौंदेखि आफू निराश बनेको बताए। 'जो-जो डिआइजी र एसपी आए, सबैलाई भेटेँ। सबैले आश्वासन दिए, तर न्याय पाउने समय अझै अन्धकारमै छ,' उनले भने।
घटनापछि उत्तरबेहडीस्थित घरसमेत बेच्नुपरेको उनले बताए।
के भयो २५ मंसिर २०६९ मा?
मंसिर २५ गते राति १० बजेतिर ओमप्रकाश पन्तको मोबाइलमा फोन आयो। फोन गर्ने व्यक्ति पन्त थरकै वरिपरिका नै थिए। कुरा गरेपछि उनी तनावग्रस्त देखिएका र आफू असुरक्षित भएको भन्दै क्रमशः प्रहरी कन्ट्रोलमा फोन गरेको परिवार बताउँछ।
राति करीब १२ बजे 'मलाई खतरा छ' भन्दै उनी घरबाहिर निस्किए। घरमै रहेकी उनकी बहिनीले पनि प्रहरीलाई फोन गरी जानकारी दिन खोज्दा गम्भीर रूपमा नलिइएको परिवारको भनाइ छ।
भोलिपल्ट २६ गते बिहान उत्तरबेहडी क्षेत्रमा ओमप्रकाश मृत अवस्थामा फेला परे। नजिकै भेटिएको वस्तुले घटना हिंसात्मक भएको संकेत दिन्थ्यो तर प्रहरीले प्रारम्भिक अनुसन्धान गम्भीर भएर नगरेका कारण प्रमाण नष्ट भएको बुझाइ श्रीकृष्ण पन्तको छ।
प्रहरीको भनाइ
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ओमप्रकाश पन्त हत्याको अनुसन्धान फाइल अझै बन्द गरिएको छैन। अनुसन्धान जारी रहे पनि 'अपराधी पहिचान गर्न पर्याप्त प्रमाण नपाइएको' प्रहरीको तर्क छ।