सुदूर नेपाललाई विश्वसँग जोड्दै

अज्ञात समुहद्धारा पर्यटकीय क्षेत्र काँक्रेविहारमा तोडफोड

२०७६ साउन २४, ०७:२३ खबर संवाददाता

नचिनेका मानिसहरुको समूहले पछिल्लो समय लगातार पर्यटकीयस्थल काँक्रेविहारको तोडफोड गरेको छ। वीरेन्द्रनगर–९, लाटीकोइलीमा रहेको पुरातात्विक स्थल काँक्रेविहारको पुनर्निर्माण अन्तिम चरणमा पुगेका बेला रातिको समयमा लगातार नचिनेका मानिसहरुको समूहले तोडफोड गरेको हो। स्थानीय हेरालु सीता कार्कीले शनिबार, आइतबार र सोमबार राति तोडफोड गरेको बताए। ‘उच्छृङ्खल समूहले मूल गेट, सुरक्षा पर्खाल, टिकट काउन्टर तोडफोड गरेको छ’, उनले भने, ‘प्रवेशद्वारमा लगाइएको ताला पनि फोडिएको छ, टिकट काउन्टर, हात धुने बेसिन लगायतमा तोडफोड गरिएको छ।’

दक्षिणतर्फको गेटमाथिको गजुर पनि भाँचिएको अवस्थामा फेला परेको छ । हेरालु र टिकट व्यवस्थापक दिउँसो मात्र त्यहाँ बस्ने गर्दछन्। रातिको समयमा चौकीदार नहुँदा असुरक्षा बढेको स्थानीयले बताए। गजुर, ढोका र काउन्टर तोडफोडको सूचना सार्वजनिक भएपछि वीरेन्द्रनगर–९ को वडा कार्यालयले चासो दिएको छ। वडाध्यक्ष सुरेश मानन्धरले तोडफोडमा संलग्नको पहिचान गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको बताए। प्रहरीले मंगलबार घटनास्थल पुगेर मुचुल्का उठाएको छ।

वडाध्यक्ष मानन्धरले काँक्रेविहार जङ्गल क्षेत्रमा भएकाले सुरक्षा चुनौती रहेको बताए। ‘काँक्रेविहारमा अस्थायी प्रहरी पोष्ट राख्न पनि अनुरोध गरेका छौँ, प्रदेशकै प्रमुख पर्यटकीयस्थल हो, पर्यटकको भीडभाड हुने मध्येको एक स्थान हो’, उनले भने, ‘पुरातात्विक वस्तुहरु छरिएका छन्, भग्नावशेषको जीर्णोद्धार भइरहेको छ, त्यसैले अब चौकीदार र सुरक्षा पोष्टको आवश्यकता भइसकेको छ।’ 

पुरातत्व विभागले ०७२ सालदेखि भग्नावशेष सङ्कलन गर्दै पुरानै स्वरुपमा पुनर्निर्माण आयोजना सञ्चालन गरिरहेको छ। काँक्रेविहारमा २१ मिटर अग्लो कलात्मक शिखर शैलीको मन्दिर बन्दैछ। जिल्ला प्रहरी कार्यालयले वडा कार्यालयलाई काँक्रेविहार क्षेत्रमा विद्युत, सीसीटीभी क्यामरा जडान र चौकीदार राख्न आग्रह गरेको छ। जिल्ला प्रहरी प्रमुख एसपी वसन्त रजौरेले घटना संलग्नहरुको खोजी भइरहेको बताए। ‘प्रहरीले घटनामा संलग्नको खोजी कार्य तीव्र पारेको छ, रातिको समयमा निगरानी बढाएका छौँ’, उनले भने। प्रहरीले लागुऔषध सेवनकर्ताबाट तोडफोड गरिएको हुन सक्ने अनुमान गरेको छ। रासस

कमेन्ट लोड गर्नुस